बैंक कर्मचारीमाथि बढ्दो आक्रमण : राष्ट्र बैंक सक्रिय, प्रहरीसँग छलफल
Saturday Jan 17, 2026
वि.सं.२०८२ माघ ३ शनिवार १३:०२
काठमाडौं । पछिल्ला केही महिनादेखि बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण र हिंसात्मक घटना बढेको भन्दै नेपाल राष्ट्र बैंकले सक्रिय पहल सुरु गरेको छ। राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग सुरक्षा सुनिश्चितका विषयमा छलफल गरेका हुन्।
छलफलमा बैंकर्स एसोसिएसनका पदाधिकारीहरू पनि सहभागी भएका थिए। छलफलको मुख्य विषय बैंक कर्मचारीलाई सुरक्षित वातावरणमा काम गर्न मिल्ने अवस्था तयार गर्नु र बैंकिङ प्रणालीमा जनविश्वास कायम राख्नु रहेको सहभागी एक बैंकका सीईओले बताए।
पछिल्लो समय ऋणीहरूले कर्जा उठाउन जाने कर्मचारीमाथि धम्की, आक्रमण र लुटपाट गर्ने घटनाहरू बढेका छन्। मंसिर २५ गते सप्तकोशीमा ज्योति विकास बैंकका दुई कर्मचारीमाथि कालोमोसो लगाएर दुरव्यवहार भएको थियो। पुष महिनामा घोराही, फरवार्ड माइक्रोफाइनान्स र नेपाल एसबिआई बैंकका कर्मचारीमाथि आक्रमण र लुटपाट भएका घटनाहरू सार्वजनिक भएका छन्।

राष्ट्र बैंकले बैंकिङ क्षेत्रको नियामक र अभिभावकको रूपमा कर्मचारी सुरक्षामा ठोस कदम चाल्नुपर्ने दबाबमा प्रहरीसँग छलफल सुरु गरेको हो। प्रहरीले सुरक्षा सुनिश्चितताका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएका छन्।
बैंकर्स एसोसिएसनले चेतावनी दिएका छन् कि सुरक्षा चुनौती बढ्दा वित्तीय प्रणालीमाथि नकारात्मक असर पर्न सक्छ।





























