नेपाल बैंक र ब्ल्याक हर्स इण्डष्ट्रिजबीच सम्झौता
Sunday Jan 18, 2026
वि.सं.२०८२ माघ ४ आइतवार २१:५३
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र जुत्ता उत्पादन उद्योग ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा. लि.बीच व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक तथा बैंकमा कार्यरत कर्मचारीहरूले ‘ब्ल्याक हर्स’ ब्राण्डका विभिन्न जुत्ताहरू खरिद गर्दा बिल रकममा १० देखि २० प्रतिशतसम्म छुट पाउनेछन्।
काठमाडौंको नागार्जुनमा अवस्थित ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा. लि.ले स्वदेशमै उत्पादन तथा बिक्री गर्दै आएको ‘ब्ल्याक हर्स’ ब्राण्डका जुत्ताहरू देशभर रहेका विक्रेतामार्फत उपलब्ध छन्। सम्झौतापछि नेपाल बैंकका ग्राहक र कर्मचारीहरूले यी जुत्ताहरू सुपथ मूल्यमा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।
सम्झौता पत्रमा मिति २०८२ साल पौष ३० गते नेपाल बैंक लिमिटेडको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा. लि.को तर्फबाट प्रबन्ध निर्देशक चिन बहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
नेपाल बैंकले ग्राहकलाई लक्षित गर्दै विभिन्न सेवा र सुविधामा सहुलियत प्रदान गर्दै आएको सन्दर्भमा यो सहकार्यलाई थप ग्राहक–मैत्री पहलको रूपमा लिइएको छ। बैंकका अनुसार यस्तो सहकार्यले ग्राहकलाई प्रत्यक्ष आर्थिक लाभ दिनुका साथै स्वदेशी उद्योगको प्रवर्द्धनमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ।
उता ब्ल्याक हर्स इण्डष्ट्रिजले पनि बैंकसँगको सहकार्यले आफ्नो ब्राण्डको पहुँच विस्तार हुने र उपभोक्तालाई गुणस्तरीय जुत्ता उचित मूल्यमा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।





























