नेपाल लाइफ समृद्धि लगानी योजना: इकाई बिक्री अवधि थप, आवेदन माघ १८ सम्म खुल्ला
Thursday Jan 22, 2026
वि.सं.२०८२ माघ ८ बिहीवार ०९:२९
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स प्रवद्र्धक र नेपाल लाइफ क्यापिटल योजना व्यवस्थापक रहेको नेपाल लाइफ समृद्धि लगानी योजना अन्तर्गतको इकाई बिक्री अवधि माघ १८ गतेसम्म थप गरिएको छ।
यसअघि माघ ८ गतेमा निष्कासन बन्द हुने भनिएको भए पनि, पर्याप्त आवेदन नपरेको कारण अवधि बढाइएको हो। नेपाल लाइफ क्यापिटलले भने, आवश्यक माग भएमा जुनसुकै दिन निष्कासन बन्द गर्न सकिने जानकारी दिएको छ।
यस योजना अन्तर्गत प्रतिएकाई १० रुपैयाँमा कुल १६ करोड इकाई बिक्रीमा आउनेछ। बीज पूँजी बापत कम्तीमा २ करोड ४० लाख इकाई सुरक्षित गरिएको छ, जसमा नेपाल लाइफ इन्स्योरेन्सलाई १४ प्रतिशत (२ करोड २४ लाख) र नेपाल लाइफ क्यापिटललाई १ प्रतिशत (१६ लाख) छुट्टाइएको छ। बाँकी १३ करोड ६० लाख इकाई सर्वसाधारण र संघसंस्थाका लागि खुला गरिएको छ।
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ६० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया आस्वा सेवा मार्फत् सहभागी बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालय, वा ‘मेरो शेयर’ अनलाइन प्रणालीबाट गर्न सकिन्छ।





























