आइएमई ग्रुपमा कतारी व्यवसायिक प्रतिनिधिमण्डल, व्यापार–लगानी सहकार्य विस्तारमा छलफल
Wednesday Feb 11, 2026
वि.सं.२०८२ माघ २८ बुधवार ०८:५१
काठमाडौं । नेपाल भ्रमणमा रहेको कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम.ए. अलोबैद्लीको नेतृत्वको व्यवसायिक प्रतिनिधिमण्डलसँग आइएमई ग्रुपले भेटवार्ता गरेको छ। भेटका क्रममा नेपाल–कतारबीचको द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत संवाद भएको हो।
सो अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले ग्रुपको समग्र पोर्टफोलियो, लगानी विस्तार तथा भावी योजनाबारे प्रतिनिधिमण्डललाई जानकारी गराए। उनले रेमिटेन्स, बैंकिङ, बीमा, सूचना प्रविधि, ऊर्जा, पर्यटन तथा हस्पिटालिटी, उद्योग, व्यापार, अटोमोटिभ, खेलकुद र शिक्षा लगायत विविध क्षेत्रमा आइएमई ग्रुपले गरिरहेको लगानी, सेवा तथा सम्भावित सहकार्यका ढोकाबारे चर्चा गरे।
अध्यक्ष ढकालले नेपालमा लगानी विस्तार गर्दा छिमेकी चीन, भारत र बंगलादेशजस्ता ठूला बजारमा समेत सहज पहुँच हुने भएकाले विदेशी लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य बन्न सक्ने धारणा राखे।
कतारी प्रतिनिधिमण्डलले नेपाल बसाइका क्रममा सरकार तथा निजी क्षेत्रका विभिन्न निकायसँग पनि भेटघाट गर्दै दुई देशबीचको आर्थिक सम्बन्ध, बैंकिङ, लगानी प्रवर्द्धन तथा सहकार्य विस्तारका विषयमा छलफल गरिरहेको जनाएको छ।





























