नाडा–अर्थमन्त्री भेट: अटोमोबाइल क्षेत्र सुधारका लागि नीति र कर पुनरावलोकनमा जोड
Monday Apr 06, 2026
वि.सं.२०८२ चैत २३ सोमवार २१:३६
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेती नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सँग भेट गरी नेपालको अटोमोबाइल क्षेत्रको वर्तमान अवस्था र सुधारका उपायबारे छलफल गरेको छ।
भेटका क्रममा अध्यक्ष उप्रेतीले अर्थमन्त्री वाग्लेलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै अटोमोबाइल क्षेत्रको विकासका लागि सरकारबाट आवश्यक नयाँ नीति तथा नियम आउने अपेक्षा व्यक्त गरे। उनले अटोमोबाइल क्षेत्रलाई सुदृढ बनाउन सके राजस्व वृद्धि हुनुका साथै रोजगारीका अवसर पनि विस्तार हुने बताए।
छलफलमा अर्थमन्त्री वाग्लेले सरकारले राजस्व संकलन बढाउने विषयमा विभिन्न विकल्पहरूमा अध्ययन गरिरहेको जानकारी दिए। उनले करको दर घटाएर राजस्व वृद्धि गर्ने सम्भावना, करको दायरा विस्तार तथा निजी क्षेत्रमैत्री नीति ल्याउनेतर्फ सरकार अग्रसर रहेको बताए। साथै, अनियमितता नियन्त्रण, सडक पूर्वाधारमा लगानी वृद्धि र आगामी बजेटका विषयमा नाडासँग पुनः छलफल गरिने जानकारी पनि दिए।
यसै क्रममा अध्यक्ष उप्रेतीले अटोमोबाइल उद्योगको प्रवर्द्धनका लागि आयातित कच्चा पदार्थमा सहुलियत आवश्यक रहेको बताए। उनले हाल सीकेडी प्रणालीलाई केही सहजता भए पनि समग्र उद्योगलाई भने विभिन्न कठिनाइहरू भोग्नुपरेको उल्लेख गरे।
उनले नेपालमै उत्पादन भइरहेका टायर, ट्युब, ब्याट्री, लुब्रिकेन्ट र हेलमेटजस्ता वस्तुहरूको गुणस्तर परीक्षणका लागि आवश्यक सरकारी संयन्त्रको अभाव रहेको औंल्याउँदै उत्पादनमैत्री वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरे।
भेटका अवसरमा नाडाले ३६ बुँदे लिखित सुझावसमेत पेश गरेको जनाएको छ।
छलफलमा नाडाका पूर्व अध्यक्ष करण चौधरी ले अटोमोबाइल कम्पोनेन्ट उद्योगमा ठूलो सम्भावना रहेको धारणा राखे भने सल्लाहकार राजनबाबु श्रेष्ठ ले लगानीमैत्री नीति आवश्यक रहेको र विद्युतीय सवारी साधन प्रवर्द्धनमा जोड दिए।
नाडाका उपाध्यक्ष विक्रम सिंघानिया ले नेपाली उद्योगलाई संरक्षण गर्ने नीति आवश्यक रहेको बताए। छलफलमा नाडाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।




























