एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक
Friday Apr 17, 2026
वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:३४
काठमाडौं, वैशाख ३ — एन आई सी एशिया बैंक लिमिटेड ले आफ्नो स्वामित्वमा रहेका तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी उपलब्ध गराउन अनलाइन पोर्टल सार्वजनिक गरेको छ।
बैंकका अनुसार उक्त पोर्टलमार्फत बैंकिङ्ग सम्पत्ति, गैर–बैंकिङ्ग सम्पत्ति तथा धितोमा रहेका सम्पत्तिहरूको विवरण एकै स्थानमा हेर्न सकिनेछ। ग्राहकहरूले लिलाम सूचना प्रकाशित हुँदा उपलब्ध गराइने क्युआर कोड स्क्यान गरी पोर्टलमा प्रवेश गर्न सक्नेछन्।
पोर्टलमा प्रत्येक सम्पत्तिको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा लोकेशन पहिचानका लागि Google Maps समेत समावेश गरिएको छ। यसले इच्छुक खरिदकर्ताहरूलाई सम्पत्तिको स्पष्ट जानकारी लिन सहज हुने विश्वास बैंकले लिएको छ।
यसका साथै, ग्राहकहरूले कुनै सम्पत्तिबारे थप जानकारी आवश्यक परेमा पोर्टलमै उपलब्ध म्यासेज बक्समार्फत आफ्नो नाम, इमेल, मोबाइल नम्बर र ठेगाना उल्लेख गरी सोधपुछ गर्न सक्ने व्यवस्था पनि गरिएको छ।
बैंकले जनाएअनुसार पोर्टलमा लिलाम बिक्री सम्बन्धी सूचना नियमित रूपमा अद्यावधिक गरिनेछ। इच्छुक ग्राहकहरूले अनलाइनमार्फत नै सम्पत्तिको विस्तृत विवरण प्राप्त गरी लाभ लिन सक्नेछन्।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलले उक्त पोर्टलले लिलाम प्रक्रिया थप पारदर्शी र सहज बनाउने विश्वास व्यक्त गरेका छन्।




























