एनएमबि क्यापिटलको रेटिङ्ग अपग्रेड, ‘एनएमबि सरल बचत फण्ड–इ’ को आकार १० अर्ब पुर्याउन स्वीकृति
Friday Apr 17, 2026
वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:४०
काठमाडौं । एनएमबि क्यापिटल लिमिटेड ले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। ईक्रा नेपाल लिमिटेड ले कम्पनीको फण्ड व्यवस्थापन गुणस्तरको मूल्याङ्कन गर्दै यसको रेटिङ्ग स्तर वृद्धि (अपग्रेड) गरेको हो।
ईक्रा नेपालद्वारा प्रदान गरिएको उक्त उच्च रेटिङ्गले कम्पनीको कोष व्यवस्थापन क्षमता अत्यन्त विश्वसनीय रहेको संकेत गर्छ। यससँगै एनएमबि क्यापिटल यस क्षेत्रमा उच्चतम रेटिङ्ग प्राप्त गर्ने कम्पनीमध्ये एक बनेको छ।
कोष प्रवर्द्धक एनएमबि बैंक लिमिटेड तथा योजना व्यवस्थापक एनएमबि क्यापिटल अन्तर्गत सञ्चालित एनएमबि म्युचुअल फण्डमा हाल तीन बन्दमुखी र एक खुलामुखी योजना सञ्चालनमा रहेका छन्।
ती योजनाअन्तर्गत:
एनएमबि ५० को खुद सम्पत्ति करिब १.३६ अर्ब रुपैयाँ र एनएभि १०.८६ रुपैयाँ रहेको छ।
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को खुद सम्पत्ति १.४९ अर्ब रुपैयाँ र एनएभि १२.२० रुपैयाँ पुगेको छ।
एनएमबि हाइब्रिड फण्ड एल–२ को खुद सम्पत्ति १.४७ अर्ब रुपैयाँ र एनएभि १०.७५ रुपैयाँ कायम भएको छ।
खुलामुखी योजना “एनएमबि सरल बचत फण्ड–इ” को खुद सम्पत्ति २०८२ फागुन मसान्तसम्म ४.७३ अर्ब रुपैयाँ पुगेको छ भने यसको एनएभि ११.०१ रुपैयाँ रहेको छ। यस योजनामा हाल ५५ हजारभन्दा बढी लगानीकर्ताको सहभागिता रहेको छ, जुन निरन्तर बढिरहेको छ।
योजनाको आकार २०८२ चैत २६ गतेसम्म ४.९४ अर्ब रुपैयाँ पुगेको छ। साथै, सो योजनाको अधिकतम आकार १० अर्ब रुपैयाँ पुर्याउन नेपाल धितोपत्र बोर्ड बाट २०८२ चैत ८ गते स्वीकृति प्राप्त भएको छ।
नेपाल धितोपत्र बोर्डले जारी गरेको बीज पूँजी सम्बन्धी परिपत्रअनुसार गरिएको यस विस्तारले योजनाको पहुँच र प्रभाव उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ। साथै, खुलामुखी योजनाप्रति बढ्दो आकर्षण र हाल प्राप्त स्वीकृतिले भविष्यमा थप लगानीकर्ता आकर्षित हुने देखिएको छ।




























