खराब ऋण घटाउँदै नबिल बैंकले कमायो १ अर्ब ७५ करोड नाफा
Thursday Nov 06, 2025
वि.सं.२०८२ कात्तिक २० बिहीवार २१:३५
काठमाडौं। नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार बैंकले सो अवधिमा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको थियो। यसरी बैंकको खुद नाफा १४.५७ प्रतिशतले घटेको देखिन्छ।
बैंकको खुद ब्याज आम्दानी ५.७७ प्रतिशतले घट्दै ३ अर्ब ९० करोड रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, कुल सञ्चालन आम्दानी पनि १.०३ प्रतिशतले घट्दै ५ अर्ब २७ करोड रुपैयाँमा पुगेको छ। नबिल बैंकले सम्भावित जोखिमका लागि ६४ करोड ७२ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ। ब्याज आम्दानीमा कमी र इम्पेयरमेन्ट खर्चमा वृद्धि भएपछि नाफामा दबाब परेको देखिन्छ।
तर, बैंकले खराब कर्जा (NPL) घटाउन सफल भएको बताइएको छ। यसले आगामी त्रैमासहरूमा नाफा सुधार हुने संकेत दिएको छ। बैंकको कुल पूँजी पर्याप्तता अनुपात (Capital Adequacy Ratio) नियामक सीमा भित्र रहेको छ।नबिल बैंक नेपालको सबैभन्दा ठूला निजी क्षेत्रका बैंकहरूमध्ये एक हो, जसले देशभरका शाखा र डिजिटल माध्यममार्फत सेवा विस्तार गरिरहेको छ।

























