नेपाल बैंकर्स संघले आज बैंकका शाखा नखोल्न निर्देशन
Thursday Aug 20, 2020
वि.सं.२०७७ भदौ ४ बिहीवार ११:०२

काठमाडौं – नेपाल बैंकर्स संघले आज बैंकका शाखा नखोल्न निर्देशन दिएको छ ।
निषेधाज्ञामा प्रहरीले बैंकका कर्मचारीहरुलाई समेत रोकेपछि आज बैंकका शाखा नखोल्न निर्देशन दिएको हो ।
नेपाल बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले आज बैंक नखोल्न भनिएको बताए । उनले भने, ‘प्रहरीले हाम्रा कर्मचारीलाई दुःख दिए त्यसैले मैले आज बैंक नखोल्न भनेको छु ।’
निषेधाज्ञा पालना गराउन सडकमा खटिएका नेपाल प्रहरी र ट्राफिक प्रहरीले ठाउँठाउँमा बैंकका कर्मचारीहरुलाई रोकेका छ। बैंकका सीईओलाई समेत बाटैमा रोकिएको बैंकर्सहरु बताउँछन् ।
नेपाल बैंकर्स संघका अध्यक्ष दाहालले भने, ‘हिजो सीडीओसँग समन्वय गरी हरेक बैंकका काठमाडौंमा पाँच वटा, भक्तपुरमा १ वटा र ललितपुरमा २ वटा गरी आठ वटा शाखा खोल्ने सहमति भएको थियो ।
बैंकका कर्मचारीलाई बैंककै परिचयपत्र देखाएर आउजाउ गर्न दिने भनिएको थियो तर बिहान बैंक खोल्न जान लागेकाहरुलाई पनि रोकियो ।’
ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले भने आफूहरुले माथिको आदेश बमोजिम काम गरिरहेको बताए । बैंकका सीईओलगायतको गुनासो आएपछि सहजीकरण गरिरहेको पनि उनले जानकारी दिए ।
एसएसपी ढकाले भने, ‘हामीले आदेश बमोजिम गर्ने हो । अस्पष्ट भएका केही विषयमा भए माथिल्लो निकायमा समन्वय गर्छौं ।’




























