नबिल बैंकको ‘हिरोज् अफ नेपाल’ उपाधीबाट सेफ सन्तोष साह सम्मानित
Friday Mar 26, 2021
वि.सं.२०७७ चैत १३ शुक्रवार ०९:३४

काठमाडौं । नबिल बैंकले हिरोज् अफ नेपालको दोस्रो संस्करणमा सेफ सन्तोष साहलाई सम्मान गरेको छ । बैंकले बिहिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमकाबीच उनलाई सम्मान गरेको हो ।
बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएर नेपालको शिर उच्च राख्न सफल नेपालीहरुलाई सम्मान गर्ने मञ्चको रुपमा नबिल बैंकले हिरोज् अफ नेपाल सुरु गरेको हो ।
सेफ सन्तोष साहले बेलायतको मास्टरसेफ कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली परिकारहरुलाई विश्व सामु चिनाउनुका साथै नेपालीको शिष्टाचार र मैत्रीपूर्ण भावलाई पनि प्रदर्शित गरेर नेपालीलाई गौरवान्वित बनाएको कारण उनलाई यस उपाधीबाट सम्मान गरिएको बैंकका सिइओ अनिल केसी शाहले बताए ।
यस्तै बैंकले शेफ शाहको गृहनगरमा ई–पुस्तकालय निर्माण गर्न र ५ महिला विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न पनि प्रतिबद्धता समेत जनाएको छ ।




























