सरकालाई पूर्णता दिँदै प्रधानमन्त्री, कुन दलबाट को बन्दैछन् मन्त्री ?
Friday Mar 31, 2023
वि.सं.२०७९ चैत १७ शुक्रवार १६:३७
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सत्ता गठबन्धनमा सहभागी ९ दललाई समेटेर सरकरालाई पूर्णता दिन लागेका छन् ।
राष्ट्रिय कर्मचारी संगठन निजामतीको महाधिवेशनमा बोल्दै उनले नयाँ मन्त्रीहरुको शपथ आज दिउँसो ३ बजे हुने बताए ।
सत्ता गठबन्धनमा सहभागी ९ दल मध्य कांग्रेस ८, माओवादीलाई प्रधानमन्त्रीसहित ६, नेकपा एस २, जसपालाई २, जनमतलाई १, लोसपा १, उन्मुक्ति १, आम जनता पार्टी १ र नेसपालाई १ मन्त्रालय दिइएको छ । तर, कांग्रेसबाट आज ४ र जसपाबाट १ जनामात्रै मन्त्री हुँदैछन् ।
नेपाली कांग्रेसले पूर्णबहादुर खड्कालाई उपप्रधान तथा रक्षामन्त्री, प्रकाशशरण महतलाई अर्थमन्त्री, रमेश रिजाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सीता गुरुङलाई शहरी विकास मन्त्रालय दिने निर्णय भएको छ ।
नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा गृहमन्त्री, शक्ति बस्नेतलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, रेखा शर्मालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुदन किराँतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अमनलाल मोदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय दिने निर्णय भएको छ ।
यस्तै, नेकपा एकीकृत समाजवादीका वेदुराम भुसाललाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र प्रकाश ज्वालालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय दिइएको छ ।
त्यस्तै, जसपाका अशोक राईलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, लोसपाका शरदसिंह भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, नाउपाका रञ्जिता श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नेसपाका महिन्द्र राय यादवलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय दिईएको छ ।
जनमतका अब्दुल खानलाई खानेपानी तथा सरसफाइ मन्त्रालय दिइएको छ । तर सरकारमा मन्त्रालयको भागबन्डामा चित्त नबुझेपछि उनले राजीनामा दिएका छन् ।





























