दिगो विकासका मोडलहरूको खोजी गर्नु आवश्यक : प्रधानमन्त्री, दाहाल
Monday Apr 03, 2023
वि.सं.२०७९ चैत २० सोमवार ०९:०५
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, दिगो विकासका मोडलहरूको खोजी गर्नु आवश्यक रहेको बताएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयको एघारौँ दीक्षान्त समारोहमा बोल्दै उनले पृथ्वीमा भइरहेको तापक्रम वृद्धि र वातावरणीय उथलपुथलबाट उत्पन्न सबै प्रकारका चुनौतीहरू र समस्याहरूको समाधानमा विशेष ध्यान केन्द्रित गर्नु आवश्यक भएको बताएका हुन्।
उनले भने, ‘विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरूले आफ्नो अध्यापन, अध्ययन र अनुसन्धानको दायरालाई अझ व्यापक बनाएर मानव जाति र सम्पूर्ण प्राणी जगतको सुरक्षा र संवर्द्धन गर्दै गरिने दिगो विकासका मोडलहरूको खोजी गर्नु आवश्यक छ । साथै हामी बाँचेको पृथ्वीमा भइरहेको तापक्रम वृद्धि र वातावरणीय उथलपुथलबाट हिमालय र यस क्षेत्रमा उत्पन्न सबै प्रकारका चुनौतीहरू र समस्याहरूको समाधानमा विशेष ध्यान केन्द्रित गर्नु आवश्यक भइसकेको छ ।’
उनले मेडिकल कलेजहरू सञ्चालन गरेर सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन नेपाल सरकारका तर्फबाट निरन्तर पहल र प्रयत्न भइरहेको बताए ।
उनले विश्वविद्यालयलाई देशकै उत्कृष्ट अनुसन्धानको केन्द्र बनाउने क्रममा देखा परेका बाधा–अड्चन र कानूनी तथा नीतिगत समस्याहरूको समाधानका लागि नेपाल सरकारका तर्फबाट सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले भनेका छन् ‘पूर्वाञ्चल विश्वविद्यालय देशकै उत्कृष्ट अध्ययन, अनुसन्धानको केन्द्र बन्न सकोस् भन्ने मेरो चाहना छ । यस सन्दर्भमा समुदाय स्तरमा पहुँच विस्तारका लागि विश्वविद्यालयले अघि सारेको नीति तथा कार्यक्रमको कार्यान्वयनमा देखा पर्न सक्ने बाधा–अड्चन र कानूनी तथा नीतिगत समस्याहरूको समाधानका लागि नेपाल सरकारका तर्फबाट सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछु । साथै, ऐनको समयानुकुल परिमार्जन र संशोधनका लागिसमेत नेपाल सरकारबाट यथोचित सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।’
उनले कृषि उपजहरू अलैँची, चिया, जुट, फलफूल, रुद्राक्ष, जडीबुटी लगायत मौलिक उत्पादनहरूमा सूक्ष्म शोध–अनुसन्धान गरेर उत्पादनको वृद्धि र प्रशोधनका साथै अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने कार्यमा समेत पूर्वाञ्चल विश्वविद्यालयले महत्त्वपूर्ण योगदान विश्वास व्यक्त गरेका छन् ।





























