शिक्षा क्षेत्रमा विद्यमान समस्या र समाधानका बारे शैक्षिक बहस सम्पन्न
Thursday Aug 15, 2024
वि.सं.२०८१ साउन ३१ बिहीवार २३:५९
काठमाडौं । शिक्षा क्षेत्रमा विद्यमान समस्या र समाधानका उपायहरु विषय शैक्षिक बहस कार्यक्रम राजधानीमा सम्पन्न भयो । सो अवसरमा शिक्षा विभागका प्रमुख सापकोटाले शिक्षाका विद्यमान समस्या र समाधानका उपायहरु बारे प्रस्तुतीकरण गर्दै समाजवाद उन्मुख संविधान बमोजिम शिक्षा, अनिवार्य र नि:शुल्क शिक्षाको मर्म, जिशिका पुनस्र्थापना कि यथावत, नियुक्ति, सरुवा, बढुवा जागिरको सुरक्षा, शिक्षक राजनीतिक दलमा आवद्ध हुन पाउने कि नपाउने जस्ता प्रश्नहरू रहेके विद्यमान अवस्था छ ।
२०१० मै राष्ट्रिय शिक्षा योजना आयोगले नै प्रशासकीय रूपमा विश्वविद्यालय पूर्ण रूपमा राजनीतिक प्रभावबाट मुक्त हुनुपर्ने, र शैक्षिक ऋण उपलब्ध गराउनुपर्ने जस्ता सुझावहरु दिएपनि अहिले शैक्षिक संस्था राजनीतिक संगठनका गतिविधिले प्राय: आक्रान्त बनेका बताउनुभये ।
यसको सुधारका लागि शिक्षामा कूल बजेटको कम्तीमा २० प्रतिशत लगानी, रणनैतिक योजना र कार्यान्वयन, सामुदायिक विद्यालयको सवलीकरण, पाठ्यक्रम अद्यावधिक, समावेशी शिक्षा, भौतिक, डिजिटल, कक्षाकोठा पूर्वाधारमा लगानी, प्रदेशस्तरमा स्तरीय शिक्षण तालिम केन्द्र, शिक्षक र नेतृत्व वर्गलाई तालिम, पाठ्य सामग्री, प्रयोगशाला, पुस्तकालय, मनोञ्जनका सामाग्री, खेल मैदान तथा सामग्री ब्यवस्गा, शिक्षक नियुक्ति, सरुवामा राजनैतिक अहस्तक्षेप, सवल शैक्षिक, ब्यवसायिक तथा मनोसामाजिक परार्श सेवा –शिक्षा र रोजगारी, अभिभावकहरुलाई सम्मान, सहकार्य र अभिभावक शिक्षा, शिक्षाविदहरुको सहयोगमा अनुगमन, मूल्यांकन मापदण्ड निर्धारण सहित मूल्यांकन अनुगमनमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रमा नेबुपका सचिवालय सदस्य डा. राजेन्द्र चापागाईंले शिक्षाका सवै तहमा सवैका आआफ्ना समस्या रहेकाले ती समस्याहरुलाई छलफल र बहसबाट माझ्दै निष्कर्षमा पुग्नुपर्ने, शिक्षाका जल्दाबल्दा समस्याका बारेमा सवैको सुझाव संकलन गरी नीति निर्माण तहसम्म पुऱ्याउन कार्यक्रम आयोजना गरेको कुरा बताउनुभयो ।
कार्यक्रम त्रिवि कर्मचारी संघका अध्यक्ष छत्र कार्की, ब्यवसायिक शिक्षा तथा तालिम केन्द्रका पूर्व सदस्यसचिव जीवनारायण काफ्ले, प्याब्सनका उपाध्यक्ष किशोर गौतमले सामुदायिक विद्यालयमा मात्र हैन नीजी विद्यालयमा पनि शिक्षक तालिम दिनुपर्ने, अव दलका भातृसंगठन खारेज गर्नुपर्ने, विश्वविद्यालयले क्यालेण्डर बनाएर लागू गर्छु भन्नु नसुहाउने बताउंदै, नीजी विदेशमा विदेश पढ्न जान एनओसी दिने कुरा रोक्नुपर्ने कुरा राख्नुभयो ।
हिसानका अध्यक्ष रमेश सिलवालले समाजवाद उन्मूख शिक्षालाइ परिभाषित गरिनुपर्ने हुरा उल्लेख गर्नुभयो । नेपाल विश्वविद्यालय प्राध्यापक संघका महासचिव नरेन्द्र सिवाकोटीले शिक्षक छनौट गर्दा नै ध्यान दिनुपर्ने, शिक्षकलाई ज्ञानमा आधारित तालिम दिनुपर्ने बताउनुभयो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले शिक्षा ऐन संशोधनको प्रक्रियामा रहेको, विधेयकलाई सवैपक्षलाई सम्वोधन गर्ने गरी जारी गरिनुपर्ने कुरा बताउनुभयो ।
शिक्षाविद प्राडा कृष्णचन्द्र शर्माले दश जोड दुइका शिक्षकले वर्षौंदेखि पढाएर स्थायी हुन नपाएर रित्तै जानु भनेको शोषण भएको, कृषि र इन्जिनियरिंगमा ब्यवहारिक पक्ष (प्राक्टिकल) कमजोर रहेको कुरा उल्लेख गर्नुभयो । शिक्षाविद विद्यानाथ कोइरालाले शिक्षण कला बदल्न पर्ने, दलका भातृसंगठन गर्नुपर्ने, नीजी र सरकारीवीच सहकार्य हुनसक्ने, जिल्ला शिक्षा कार्यालय आवश्यक नरहेको, पालिकालाई केहि निश्चित रकम दिएर माध्यमिक सम्मको शिक्षाको जिम्मा दिनुपर्ने, शिक्षकको स्वमूल्यांकन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
राहत शिक्षक संघका अध्यक्ष खेमराज अधिकारीले शिक्षक महासंघमा राजनैतिक शिक्षक संगठनको प्रतिनिधित्व हुने भएपछि कसरी शिक्षामा राजनीति हटाउन सकिन्छ भन्नुभयो । त्रिवि अन्तराष्टिय सम्वन्ध केन्द्रका निर्देशक विनोद जोशीले शिक्षा मन्त्रालयले एनओसी लेटरलाई पुनर्विचार गर्नेपर्ने कुरामा जोड दिनुभयो । बुद्धिजीवी परिषदका महासचिव गजेन्द्र थपलियाले नीति निर्माण तहका लागि छलफल महत्वपूर्ण हुने र नीतिगत तहका सांसद र मन्त्रीहरुलाई बोल्ने भन्दा अरुका कुरा सुनेर मनन गर्नुपर्ने कुरा बताउनुभयो ।
बुद्धिजीवी परिषदका अध्यक्ष दिनेशचन्द्र देवकोटाले शिक्षा सुधारका लागि बुद्धिजीवीहरुको महत्वपूर्ण भूमिका हुने, विश्व परिवेश अनुसार शिक्षामा सुधार गर्न नीतिगत सुधारमा जोडदिनुपर्ने कुरा राख्नुभयो । शिक्षा विभागका सदस्य नारायण शर्मा उपाध्यायले धन्यवाद ज्ञापन गदै यस खालका कार्यले शिक्षाको विकासमा सरोकारवाला निकायहरुमा पृष्ठपोषणको काम गर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रमका सहभागीहरुलाई शिक्षाका समसामयिक १३ वटा प्रश्नहरु उल्ल्खेख गरी सुझाव मागिएको थियो । नेपाल बुजिीवी परिषदका केन्द्रिय सदस्य तथा शिक्षा विभाग प्रमुख डा. बुद्धिप्रसाद सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा संघीय संसदका शिक्षा विभागका माननीय सदस्य दीपा शर्मा तथा नेकपा एमाले शिक्षा विभाग प्रमुख पार्वति रावलको उपस्थिति थियो । कार्यक्रम संचालन नेबुप शिक्षा विभागका सचिव अन्जु केसीले गर्नुभएको थियो ।