एपिएफ क्लब र अग्नि ग्रुपद्वारा प्रथम ‘एपिएफ महिन्द्रा स्पोर्ट्स अवार्ड २०८१’ सम्पन्न, खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मान

Saturday Apr 12, 2025
वि.सं.२०८१ चैत ३० शनिवार ०८:०१

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल, खेलकुद तथा शारिरिक सुगठन शिक्षायलय अन्तर्गत नेपाल एपिएफ क्लब र अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडको सहकार्यमा प्रथम ‘एपिएफ महिन्द्रा स्पोर्ट्स अवार्ड २०८१’ समारोह सम्पन्न भएको छ । यही शुक्रबार काठमाडौँ हलचोकस्थित नेपाल एपिएफ क्लबको कृष्ण मोहन स्मृति भवनमा आयोजना गरिएको समारोहमा खेलकुद क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्दै संगठन तथा राष्ट्रको गौरवको लागि उल्लेखनीय योगदान पुर्याएका खेलाडी तथा अन्य खेल व्यक्तित्वहरूको सम्मान गरिएको छ ।
समारोहमा मिडियाकर्मी, खेलाडीहरू लगायत विशिष्ट अतिथिहरूको भव्य उपस्थिति रह्यो । विशिष्ट अतिथिहरूमा माननीय गृहमन्त्री श्री रमेश लेखक, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव श्री टंक लाल घिसिङ, सशस्त्र प्रहरी महानिरिक्षक श्री राजु अर्याल, नेपाल प्रहरी महानिरिक्षक श्री दिपक थापा, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल, अग्नि ग्रुपका अध्यक्ष श्री क्याबिनेट श्रेष्ठ, अग्नि ग्रुपका प्रबन्ध निर्देशक श्रीमती सुजन वैद्य श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक श्री अर्जुन प्रसाद शर्मा, महिन्द्रा एन्ड महिन्द्राको नेपाल, भुटान र बङ्गलादेशको लागि कन्ट्रि हेड श्री चैतन्य कागलकार, अग्नि ग्रुपका उपाध्यक्ष सुश्री वेदा सताशा श्रेष्ठ, अग्नि ग्रुपका अनुसन्धान तथा विकास प्रमुख श्री वेदान्त श्रेष्ठको उपस्थिति रह्यो ।
समारोहलाई सम्बोधन गर्नुहुँदै अग्नि ग्रुपका कार्यकारी निर्देशक श्री अर्जुन प्रसाद शर्माले भन्नुभयो, “यो अवार्डको माध्यमबाट हामीले खेलकुद क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्दै, राष्ट्रको गौरवको लागि उल्लेखनीय योगदान पुर्याएका खेलाडी तथा अन्य खेलकर्मी व्यक्तित्वहरूको कदर तथा सम्मान गर्ने उद्देश्य लिएका छौँ । यस वर्षबाट सुरू गर्दै उत्कृष्ट खेलाडीहरूको पहिचान र सम्मान गर्ने यो प्लेटफर्मलाई हामी आगामी वर्षमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
समारोहमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा खेलकर्मीलाई सम्मान गरिएको छ । माननीय गृहमन्त्रीज्यूले जनही रू. ५० हजारको नगद पुरस्कारसहित महिला फुटबल खेलाडी रेनुका नगरकोटीलाई ‘एपिएफ महिन्द्रा प्लेयर अफ द यियर २०८१ – महिला’ र ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई ‘एपिएफ महिन्द्रा प्लेयर अफ द यियर २०८१ – पुरुष’को उपाधी र सम्मान पत्र हस्तान्तरण गर्नुभयो ।
माननीय युवा तथा खेलकुदमन्त्रीज्यूले रू. २५ हजारको नगद पुरस्कारसहित कराँते खेलाडी मोहम्मद सेखु आलमलाई ‘मस्ट पपुलर एपिएफ महिन्द्रा प्लेयर अफ द यियर २०८१ – पुरुष’ को उपाधी सहित सम्मान पत्र हस्तान्तरण गर्नुभयो । त्यसैगरी माननीय मुख्यमन्त्रीज्यूले रू. २५ हजार नगद पुरस्कारसहित महिला फुटबल खेलाडी प्रीति राईलाई ‘मस्ट पपुलर एपिएफ महिन्द्रा प्लेयर अफ द यियर २०८१ – महिला’ को उपाधी सहित सम्मान पत्र हस्तान्तरण गर्नुभयो ।
‘एपिएफ महिन्द्रा टिम अफ द यियर २०८१’ उपाधी सहित रू. ५० हजार नगद पुरस्कारबाट एपिएफ महिला फुटबल टिम सम्मानित भएको छ । ‘एपिएफ कोच अफ द यियर २०८१ – पुरुष’ र ‘एपिएफ कोच अफ द यियर २०८१ – महिला’को अवार्ड र जनही नगद रू. २५ हजार पुरस्कारबाट क्रमश फुटबल प्रशिक्षक जिवेशकुमार पाण्डे र कराँते प्रशिक्षक गङ्गा देवी अधिकारी सम्मानित भएका छन् ।
त्यसैगरी ‘एपिएफ महिन्द्रा योङ प्लेयर अफ द यियर २०८१ – पुरुष’ र ‘एपिएफ महिन्द्रा योङ प्लेयर अफ द यियर २०८१ – महिला’को अवार्डसहित जनही रू. २५ हजार नगद पुरस्कारबाट अवार्डबाट क्रमश यु-१६ फुटबल खेलाडी तेञ्जिङ शेर्पा र सावित्री किशन सम्मानित भएका छन् । त्यसैगरी सप्रमनि राजु अर्यालज्यूले नेपाल एपिएफ क्लबका पूर्व प्रशिक्षक तथा पूर्व खेलाडीहरूलाई ‘एपिएफ आइजिपि कमेन्डेसन’को रूपमा कदर पत्र, तथा सहयोग गर्ने व्यक्ति तथा संघ-संस्थालाई कदर पत्र सहित मायाको चिनो हस्तान्तरण गर्नुभयो । त्यसैगरी, विशिष्ट अतिथिहरूद्वारा सम्मानित खेलाडी तथा खेलकर्मीहरूलाई उपाधी, कदर पत्र, तथा मायाको चिनो हस्तान्तरण गरिएको छ ।
खेलकुद क्षेत्रमा उत्कृष्ट खेलाडी उत्पादन तथा विकास गर्दै नेपाली खेलकुदको क्षेत्रमा योगदान पुर्याउन सफल एपिएफ क्लबद्वारा खेलाडीहरूलाई प्रोत्साहनस्वरुप यो अवार्ड आयोजना गरिएको हो । अग्नि ग्रुप महिन्द्रा नेपालले नेपाली खेलकुदको विकास तथा प्रवर्द्धनमा विभिन्न प्रायोजन तथा सहकार्यमार्फत विगत दस वर्ष देखि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । ग्रुपको यसै प्रतिबद्धतालाई निरन्तरता दिँदै अग्नि ग्रुपले एपिएफ क्लबसँग निरन्तर सहकार्य गर्दै आइरहेको छ ।