भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु
Sunday Jul 26, 2026
वि.सं.२०८३ साउन १० आइतवार २१:५२
काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक रूपमा बिक्रीका लागि सार्वजनिक गरेको छ। कम्पनीले यसको सुरुआती मूल्य ७ लाख ३९ हजार ९ सय भारतीय रुपैयाँ निर्धारण गरेको छ। नयाँ मोडलले भारत एनक्याप (Bharat NCAP) क्र्यास परीक्षणमा ५-स्टार सुरक्षा रेटिङ हासिल गर्दै सुरक्षा पक्षमा पनि उत्कृष्ट प्रदर्शन गरेको छ।
डिजाइनका हिसाबले नयाँ ब्रेजाले पुरानो मोडलको पहिचान कायम राखे पनि अगाडिको भागमा उल्लेखनीय परिवर्तन गरिएको छ। यसमा नयाँ डिजाइनको फ्रन्ट ग्रिल, परिमार्जित एलईडी हेडलाइट, नयाँ बम्पर तथा त्रिकोणाकार फग ल्याम्प हाउजिङ समावेश गरिएको छ। साथै, नयाँ १६ इन्चका अलोय ह्विलले यसको आकर्षण थप बढाएको छ भने साइड प्रोफाइल भने अघिल्लो संस्करणकै शैलीमा राखिएको छ।
इन्जिन विकल्पमा कम्पनीले १.५ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिनसँगै सिएनजी भेरिएन्ट पनि उपलब्ध गराएको छ। नयाँ सिएनजी मोडलमा अन्डरबडी ट्याङ्क प्रयोग गरिएकाले अघिल्लो संस्करणको तुलनामा बुट स्पेस बढी उपलब्ध हुने कम्पनीको दाबी छ। यसबाहेक, पहिलो पटक १.० लिटर टर्बो पेट्रोल इन्जिन र ६-स्पिड म्यानुअल गियरबक्सको संयोजन पनि समावेश गरिएको छ।
१.५ लिटर पेट्रोल इन्जिनले १०२ हर्सपावर र १३९ एनएम टर्क उत्पादन गर्छ भने १.० लिटर टर्बो पेट्रोल इन्जिनले ११० हर्सपावर तथा १७० एनएम टर्क प्रदान गर्ने कम्पनीले जनाएको छ।
इन्टेरियरतर्फ नयाँ ब्रेजाको क्याबिन कालो र खैरो रङको संयोजनमा तयार गरिएको छ। यसमा १०.१ इन्चको नयाँ इन्फोटेनमेन्ट टचस्क्रिन, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र हेड-अप डिस्प्ले जस्ता आधुनिक सुविधा दिइएको छ। साथै, वायरलेस फोन चार्जर, भेन्टिलेटेड तथा पावर्ड फ्रन्ट सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, एयर प्युरिफायर, आईआरभीएम र एड्जस्टेबल स्टेयरिङ लगायतका सुविधा पनि समावेश छन्।
सुरक्षालाई थप मजबुत बनाउन गाडीमा ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पट मनिटरिङ, हिल डिसेन्ट कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी) तथा आईएसओफिक्स चाइल्ड सिट माउन्ट जस्ता अत्याधुनिक सुरक्षा फिचर उपलब्ध गराइएको छ।
























