डीएभी कर्पोरेट फुटसल–२०२६ सम्पन्न, काठमाडौं उपत्यका खानेपानी च्याम्पियन
Thursday Aug 06, 2026
वि.सं.२०८३ साउन २१ बिहीवार ११:२६
काठमाडौं। डीएभी बिजनेस स्कुल र ह्युमन रिसोर्स सोसाइटी नेपाल (एचआरएसएन) को संयुक्त आयोजनामा तेस्रो संस्करणको डीएभी कर्पोरेट फुटसल प्रतियोगिता–२०२६ सफलतापूर्वक सम्पन्न भएको छ।
साउन १५ देखि १७ गतेसम्म ललितपुरको जावलाखेल खेल मैदानमा आयोजित तीनदिने प्रतियोगितामा वाणिज्य बैंक, बीमा कम्पनी, सूचना प्रविधि (आईटी) कम्पनी, अटोमोबाइल डिलर, ट्रेडिङ कम्पनी तथा उत्पादनमूलक उद्योगसहित विभिन्न क्षेत्रका ३२ कर्पोरेट टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ।
टोली भावना विकास, व्यावसायिक सञ्जाल विस्तार तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा कुल ३२ लिग चरणका खेल र १५ नकआउट खेल सम्पन्न भएका थिए।
प्रतियोगिताको फाइनलमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पराजित गर्दै उपाधि जित्न सफल भएको थियो। विजेता टोलीले रु. १ लाख नगद, ट्रफी र स्वर्ण पदक प्राप्त गरेको छ। उपविजेता नेपाल नागरिक उड्डयन प्राधिकरणले रु. ५५ हजार नगद, ट्रफी तथा रजत पदक प्राप्त गरेको आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्घाटन डीएभी बिजनेस स्कुलका अध्यक्ष अनिल केडियाले गरेका थिए। उद्घाटन समारोहमा ह्युमन रिसोर्स सोसाइटी नेपालका महासचिव दिशनाथलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा अध्यक्ष केडियाले खेलकुदले पेशाकर्मीबीच सहकार्य, एकता र आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका थिए।
प्रतियोगिता सुरु हुनुअघि आयोजित पूर्व–प्रतियोगिता बैठकमा सहभागी टोलीका कप्तान, व्यवस्थापक तथा प्रतिनिधिहरूलाई प्रतियोगितासम्बन्धी जानकारी दिइएको थियो। कार्यक्रममा डीएभी बिजनेस स्कुलका एमबीए कार्यक्रम संयोजक राजेश कुमार चौधरीले धन्यवाद ज्ञापन गरेका थिए।
समापन समारोहमा सहभागी सबै ३२ टोली, रेफ्री तथा प्रायोजक संस्थाहरूलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरिएको थियो।

आयोजकका अनुसार प्रतियोगिताले कर्पोरेट क्षेत्र र शैक्षिक समुदायबीच सहकार्य, व्यावसायिक सम्बन्ध विस्तार तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्य हासिल गरेको छ। सहभागीहरूले प्रतियोगिताको व्यवस्थापन, अनुशासन र प्रतिस्पर्धात्मक वातावरणको प्रशंसा गर्दै आगामी संस्करणमा पनि सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
डीएभी बिजनेस स्कुलले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने ह्युमन रिसोर्स सोसाइटी नेपाल, मुसाक, क्वान्टम बिट्स, इको इन्फिनिटी प्रालि., उपर्या ग्रुप, अल्का हस्पिटल प्रालि. लगायत सम्पूर्ण सहयोगी संस्था, स्वयंसेवक तथा सहभागीप्रति आभार व्यक्त गर्दै आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।























