नाइमा एक्स्पोमा सार्वजनिक भयो मोर्बिडेली टी २५० एक्स, मूल्य ६ लाख २० हजार
Wednesday Aug 12, 2026
वि.सं.२०८३ साउन २७ बुधवार २२:५०
काठमाडौं। इटालियन प्रिमियम मोटरसाइकल ब्राण्ड मोर्बिडेलीले नेपाली बजारमा आफ्नो नयाँ एड्भेन्चर मोटरसाइकल टी २५० एक्स सार्वजनिक गरेको छ। नेपालका लागि आधिकारिक बिक्रेता बैद्यज अर्गनाइजेशनले २५० सीसी सेग्मेन्टको यो नयाँ मोटरसाइकल सार्वजनिक गर्दै बिक्रीसमेत सुरु गरेको हो।
मंगलबारबाट सुरु भएको नाइमा मोविलिटी एक्स्पो २०२६ को अवसर पारेर इटालियन प्रिमियम मोटरसाइकल मोर्बिडेलीलाई प्रर्दशनीमा समेत राखेको छ।
कम्पनीले मोर्बिडेली टी २५० एक्सको मूल्य ६ लाख २० हजार रुपैयाँ निर्धारण गरेको छ। यो नेपाली बजारमा उपलब्ध मोर्बिडेलीको सबैभन्दा किफायती मोटरसाइकल हो। नयाँ मोडलको आगमनसँगै कम्पनीले नेपाली एड्भेन्चर मोटरसाइकल बजारमा आफ्नो उपस्थितिलाई थप विस्तार गर्ने अपेक्षा गरेको छ।
यसअघि नेपाली बजारमा मोर्बिडेलीको एड्भेन्चर सेग्मेन्टअन्तर्गत टी ३५२ एक्स, टी ५०२ एक्स र टी १००२ भीएक्स सुपर एड्भेन्चर बिक्री हुँदै आएका छन्। टी २५० एक्सलाई कम्पनीले सोही लाइनअपमा इन्ट्रि–लेभल एड्भेन्चर मोटरसाइकलका रूपमा प्रस्तुत गरेको हो।
टी २५० एक्समा २४९.४ सीसी सिंगल सिलिन्डर, फोर–भल्भ, एयर–कुल्ड ईएफआई इन्जिन जडान गरिएको छ। उक्त इन्जिनले ७ हजार ५ सय आरपीएममा अधिकतम २२।४ हर्सपावर र ६ हजार आरपीएममा २२।३ एनएम टर्क उत्पादन गर्छ। यसमा ६–स्पिड गियरबक्स रहेको छ भने मोटरसाइकलको अधिकतम गति करिब ११५ किलोमिटर प्रतिघण्टा रहेको छ।
मोटरसाइकलमा १७७ एमएम फ्रन्ट र ५५ एमएम रियर ट्राभल, लङ–ट्राभल यूएसडी फ्रन्ट फोर्क तथा रियर प्रिलोड एड्जस्टेबल मोनोशक दिइएको छ। त्यसैगरी स्पोक ह्वील, डिस्क ब्रेक र डुअल–पर्पस टायरले सडक तथा अफरोड दुवै अवस्थामा स्थिरता र नियन्त्रणमा सहयोग पुर्याउने कम्पनीले जनाएको छ।
१५४ किलोग्राम तौल रहेको टी २५० एक्समा २२० एमएम ग्राउण्ड क्लियरेन्स, ८२० एमएम सिट हाइट र ११।७ लिटर क्षमताको फ्युल ट्यांक रहेको छ। यसले नेपाली सडक तथा अफरोड यात्राका लागि आवश्यक उच्च ग्राउण्ड क्लियरेन्स र पर्याप्त राइडिङ क्षमता प्रदान गर्ने कम्पनीको विश्वास छ।
एड्भेन्चर र टुरिङ रुचाउने मोटरसाइकल पारखीहरूलाई लक्षित गरी ल्याइएको टी २५० एक्सले आफ्नो आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शन र आधुनिक प्रविधिमार्फत नेपाली बजारमा नयाँ उत्साह सिर्जना गर्ने अपेक्षा गरिएको छ । मोर्बिडेली नेपालले आगामी दिनमा पनि विश्वस्तरीय उत्पादन, गुणस्तरीय सेवा तथा उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्दै नेपाली मोटरसाइकल बजारमा आफ्नो उपस्थितिलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
बैद्यज अर्गनाइजेशनका अनुसार टी २५० एक्सले नेपाली बजारमा किफायती मूल्यमा एड्भेन्चर मोटरसाइकल खोज्ने ग्राहकलाई लक्षित गरेको छ। नयाँ मोडलमार्फत मोर्बिडेलीको एड्भेन्चर सेग्मेन्टलाई थप फराकिलो बनाउँदै नेपाली युवा तथा एड्भेन्चर राइडरमाझ ब्राण्डको पहुँच विस्तार गर्ने कम्पनीको लक्ष्य रहेको छ।
























