नाइमा एक्स्पोमा नाइयुका ३ नयाँ स्कुटर सार्वजनिक, एनक्यूआई स्पोर्ट्सको मूल्य ७८ हजार रुपैयाँ घट्यो
Sunday Aug 16, 2026
वि.सं.२०८३ साउन ३१ आइतवार ०९:३४
काठमाडौं । स्मार्ट विद्युतीय मोबिलिटी ब्रान्ड नाइयु (NIU) ले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा तीन नयाँ विद्युतीय स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले एफक्यूआईएक्स३००, एफएक्स विन्ड र एनक्यूआईजीटीएस नेपाली बजारमा ल्याएको हो।
भृकुटीमण्डपमा जारी एक्स्पोमा तीन नयाँ मोडल सार्वजनिकसँगै नाइयुको विद्युतीय स्कुटर पोर्टफोलियो विस्तार भएको कम्पनीले जनाएको छ। आधुनिक डिजाइन, स्मार्ट प्रविधि, कनेक्टिभिटी र विद्युतीय कार्यसम्पादनलाई प्राथमिकतामा राखेर यी स्कुटर नेपाली बजारमा ल्याइएको हो।
एफक्यूआईएक्स३०० मा ३ हजार ६ सय वाटको रेटेड मोटर र ५ हजार ६ सय वाट पीक पावर रहेको छ। यसमा ७२ भोल्ट २८ एम्पियर आवर क्षमताका दुईवटा ब्याट्री प्रयोग गरिएको छ। कम्पनीका अनुसार सवारी तथा सडकको अवस्थाअनुसार यसले १३० देखि १५० किलोमिटरसम्म रेन्ज प्रदान गर्छ।
त्यस्तै, एफएक्स विन्डमा ३ हजार वाट रेटेड मोटर तथा ५ हजार ६ सय वाट पीक पावर रहेको छ। ७२ भोल्ट ३२ एम्पियर आवर क्षमताको ब्याट्री जडान गरिएको यो स्कुटरले प्रयोग र राइडिङ अवस्थाअनुसार ८० देखि १०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ।
नाइयुको एनक्यूआई प्लेटफर्ममा आधारित एनक्यूआईजीटीएसमा पनि ३ हजार ६ सय वाट रेटेड मोटर र ५ हजार ६ सय वाट पीक पावर रहेको छ। यसमा ७२ भोल्ट २८ एम्पियर आवर क्षमताका दुईवटा ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार यसले १३० देखि १५० किलोमिटरसम्म रेन्ज दिन सक्छ।

एनक्यूआई स्पोर्ट्सको मूल्य ७८ हजार १ सय रुपैयाँ घट्यो
तीन नयाँ मोडल सार्वजनिकसँगै नाइयुले लोकप्रिय एनक्यूआई स्पोर्ट्सको मूल्यमा पनि उल्लेख्य कटौती गरेको छ। यसअघि ३ लाख ४८ हजार रुपैयाँ रहेको एनक्यूआई स्पोर्ट्सको नयाँ मूल्य २ लाख ६९ हजार ९ सय रुपैयाँ कायम गरिएको छ।
यससँगै यसको मूल्य ७८ हजार १ सय रुपैयाँ अर्थात् २२.४४ प्रतिशतले घटेको छ। कम्पनीले मूल्य घटाइए पनि स्कुटरको स्पेसिफिकेसन, फिचर तथा कार्यसम्पादनमा कुनै परिवर्तन नगरिएको जनाएको छ।
एनक्यूआई स्पोर्ट्सले सवारी सञ्चालन तथा प्रयोगको अवस्थाअनुसार ८० देखि ९० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको भनाइ छ। मूल्य समायोजनमार्फत स्मार्ट विद्युतीय मोबिलिटीलाई थप नेपाली ग्राहकको पहुँचमा पुर्याउने लक्ष्य रहेको कम्पनीले जनाएको छ।
नाइयुले नेपालमा बिक्री तथा सेवा सञ्जाल विस्तारसँगै स्पेयर पार्ट्सको सहज उपलब्धता, व्यावसायिक सर्भिस सेन्टर, टेस्ट राइड सुविधा तथा ग्राहक–केन्द्रित सेवा विस्तारमा समेत जोड दिइरहेको जनाएको छ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सहभागी आगन्तुकले काठमाडौंको भृकुटीमण्डपस्थित नाइयुको स्टलमा नयाँ सार्वजनिक भएका तीनवटै स्कुटर तथा नयाँ मूल्यमा उपलब्ध एनक्यूआई स्पोर्ट्स प्रत्यक्ष अवलोकन गर्न सक्नेछन्।
























