विकास बैंकको नाफामा ६४ प्रतिशतको छलाङ, गरिमा बन्यो सबैभन्दा बढी कमाउने बैंक
Friday Aug 21, 2026
वि.सं.२०८३ भदौ ५ शुक्रवार १८:२९
काठमाडौं। गत आर्थिक वर्ष २०८२/८३ मा विकास बैंकहरूको खुद नाफा ६४ प्रतिशतले वृद्धि भएको छ। खराब कर्जाको व्यवस्थापनमा सुधार, प्रोभिजनिङ खर्चमा कमी तथा खुद ब्याज आम्दानीसँगै शुल्क र कमिसन आम्दानी बढेपछि विकास बैंकहरूको नाफामा उल्लेखनीय सुधार देखिएको हो।
१६ वटा विकास बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा उनीहरूले कुल ९ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा विकास बैंकहरूको कुल खुद नाफा ५ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो।
नेपालमा सञ्चालनमा रहेका १७ विकास बैंकमध्ये कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा भई नेपाल राष्ट्र बैंकको व्यवस्थापनमा रहेकाले उक्त बैंकको वित्तीय विवरण यस विवरणमा समावेश गरिएको छैन।
गत आर्थिक वर्षमा सबैभन्दा धेरै नाफा कमाउने विकास बैंकमा गरिमा विकास बैंक शीर्ष स्थानमा रहेको छ। बैंकले १ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
त्यसैगरी, मुक्तिनाथ विकास बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ। साइन रेसुङ्गा विकास बैंक र ज्योति विकास बैंक ले पनि एक अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेका छन्।
राष्ट्रियस्तरका आठ विकास बैंकले मात्रै कुल ८ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। यसले विकास बैंकहरूको कुल नाफामा राष्ट्रियस्तरका बैंकहरूको हिस्सा उच्च रहेको देखाउँछ।
तर, सबै विकास बैंकको वित्तीय अवस्था भने समान छैन। गत आर्थिक वर्षमा नारायणी विकास बैंक ५ करोड ३७ लाख रुपैयाँ घाटामा गएको छ। यससँगै नारायणी उक्त अवधिमा घाटामा जाने एकमात्र विकास बैंक बनेको छ।
वितरणयोग्य नाफा ५ अर्ब ६७ करोडमा सीमित
खुद नाफा ९ अर्ब ३३ करोड रुपैयाँ पुगे पनि बैंकहरूको वितरणयोग्य नाफा भने ५ अर्ब ६७ करोड रुपैयाँमा सीमित भएको छ।
उठाउन बाँकी ब्याजको रकम बढ्नु, कर्जा जोखिम व्यवस्थापन तथा गैरबैंकिङ सम्पत्तिसम्बन्धी सम्भावित जोखिमका लागि नियामकीय व्यवस्थाअनुसार थप रकम छुट्याउनुपरेकाले खुद नाफाको तुलनामा वितरणयोग्य नाफा कम देखिएको हो।
वितरणयोग्य नाफाका आधारमा पनि गरिमा विकास बैंक नै पहिलो स्थानमा रहेको छ। बैंकको वितरणयोग्य नाफा १ अर्ब २१ करोड रुपैयाँ पुगेको छ।
यता, मुक्तिनाथ विकास बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाए पनि वितरणयोग्य नाफा भने ६७ करोड रुपैयाँ मात्रै रहेको छ।
वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, सिन्धु विकास बैंक र नारायणी विकास बैंक को वितरणयोग्य नाफा ऋणात्मक रहेको छ।
आर्थिक सुस्तता र असुली चुनौती कायमै
नाफामा सुधार देखिए पनि विकास बैंकहरूले आर्थिक गतिविधिमा आएको सुस्तता र कर्जा असुलीमा देखिएको चुनौतीलाई प्रमुख जोखिमका रूपमा औंल्याएका छन्।
बैंकहरूको व्यवस्थापकीय विश्लेषणअनुसार आर्थिक सुस्तताका कारण कर्जा असुली प्रभावित भएको छ। ऋण नतिर्ने अभियानका कारण पनि बैंकहरूको असुली प्रक्रिया कमजोर बनेको उल्लेख गरिएको छ।
त्यस्तै, जेनजी आन्दोलनबाट सिर्जित आर्थिक तथा व्यावसायिक प्रभाव, राजनीतिक अस्थिरता र वित्तीय बजारमा बढ्दो प्रतिस्पर्धाले बैंकहरूको सञ्चालनमा थप चुनौती सिर्जना गरेको बैंकहरूले जनाएका छन्।
यद्यपि, खराब कर्जा व्यवस्थापनमा सुधार, प्रोभिजनिङ खर्चमा कमी र ब्याजसँगै गैरब्याज आम्दानीमा भएको वृद्धिले गत आर्थिक वर्षमा विकास बैंकहरूको समग्र नाफा उल्लेखनीय रूपमा बढाउन सहयोग पुगेको देखिन्छ।
























