सरकारी अस्पतालमा सामान्य अप्रेसन गर्न नौ महिनासम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : सांसद बर्तौला
Thursday Jun 13, 2024
वि.सं.२०८१ जेठ ३१ बिहीवार १०:५१
काठमाडौँ । नेकपा (एमाले)का सांसद एवं प्रमुख सचेतक महेश कुमार बर्तौलाले नेपालीले सरकारी अस्पतालमा अपरेसनकै लागि नौ महिनासम्म कुर्नुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी भएको बताउनुभएको छ । उहाँले सरकारी अस्पतालको क्षमता अभिवृद्धि गरी नागरिकमा सहज स्वास्थ्य सेवाको पहुच पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
बुधबार प्रतिनिधि सभा बैठकमा सांसद बर्तौलाले केन्द्रीय मात्रै नभएर जिल्ला स्तरीय देशैभरिका अस्पतालहरुको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले नागरिकले हर्निया, क्यान्सर लगायतका रोगको उपचारका लागि सरकारी अस्पतालमा वर्षौँसम्म पालो कुर्नुपर्ने विडम्बना रहेको उल्लेख गर्दै सरकारले सम्बन्धित अस्पतालहरुको क्षमता अभिवृद्धि, जनशक्ति वृद्धिका लागि विशेष पहल गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रा केन्द्रीय ठुला अस्पतालहरु जहाँ हर्निया, पत्थरी जस्ता रोगको सामान्य अपरेसन गर्नुपर्यो भने पनि नौ महिनासम्म पालो कुर्नुपर्ने अवस्था छ । नागरिकले वीर, टिचिङ, मानव अंग प्रत्यारोपण, भक्तपुर क्यान्सर अस्पताल साना वा ठुला सबै प्रकृतिका रोगका अप्रेसनका लागि नौ महिनादेखि वर्षौँसम्म पालो कुर्न पर्ने अवस्था छ । सरकारले सम्बन्धित अस्पतालहरुको क्षमता अभिवृद्धिका लागि आवश्यक जनशक्ती व्यवस्थापनका लागि विशेष पहल गरोस् । यो काठमाडौँ केन्द्रित अस्पतालको मात्र होइन देशैभरिका सरकारी अस्पतालको क्षमता अभिवृद्धि सरकारले गर्नुपर्छ ।’




























