कर्मचारी सञ्चय कोषका ऋणीले एनआईसी एशिया बैंकबाटै ऋण भुक्तानी गर्न सक्ने
Wednesday Jul 22, 2020
वि.सं.२०७७ साउन ७ बुधवार ००:१०

काठमाडौं – कर्मचारी सञ्चय कोषका ऋणीले एनआईसी एशिया बैंकबाटै ऋण भुक्तानी गर्न सक्ने भएका छन् । कर्मचारी सञ्चय कोषबाट कर्जा उपभोग गरिरहेका ऋणीहरूले साँवा ब्याजसहितको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्नका निमित्त कर्मचारी सञ्चय कोष र एनआईसी एशिया बैंकबीच समझदारी भएको छ ।
उक्त समझदारी पत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा कोषको तर्फबाट मुख्य प्रबन्धक अर्जुन कुमार गौतमले हस्ताक्षर गरेका छन् ।
बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड९एनसीएचएल० सँगको सहकार्यमा कर्मचारी सञ्चय कोषबाट कर्जा सुविधा लिईरहेका ऋणीहरूलाई सुविधाको निमित्त उनीहरूले उपभोग गरेका कर्जा बमोजिमको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याउने समझदारी गरेको हो ।
डिजिटल बैंकिङ्ग सेवामा अग्रणी स्थानमा रहिआएको यस बैंकले डिजिटल फस्ट बैंक बन्ने दीर्घकालीन लक्ष्यअनुरुप नेपाल क्लियरिङ्ग हाउससँगको सहकार्यमा विद्युतीय भुक्तानी जस्तो नवीनतम सुविधा ल्याएको छ । यस व्यवस्था अन्तर्गत अब जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूमा खाता सञ्चालन गरेका कर्मचारी सञ्चय कोषका ऋणीहरूले नेपाल क्लियरिङ्ग हाउस पोर्टलमा लग इन गरेपश्चात् गोभरमेन्ट पेमेन्टमा क्लिक गरी भुक्तानी प्रक्रिया सुरु गर्न सक्नेछन् ।
नयाँ व्यवस्था अनुसार बैंक नै नगई घर तथा अफिसबाट विद्युतीय माध्यमबाट उक्त किस्ता रकम सजिलै भुक्तानी गर्न सकिने छ । यससँगै, नगद रकम तथा चेक बोकी बैंकको शाखामा गई कर्मचारी सञ्चय कोषको कर्जाको साँवा ब्याजसहितको किस्ता रकम भुक्तानी गर्ने दिन गएका छन् ।




























