नेपाल टेलिकमको गत आर्थिक वर्षको चौथो त्रैमासिक करिब दुई अर्ब रुपियाँले घाटामा
Monday Aug 17, 2020
वि.सं.२०७७ भदौ १ सोमवार २३:०७

काठमाडौं – देशभरि सञ्जाल बिस्तार भएको नेपाल टेलिकमको कोभिड–१९ सङ्क्रमणका कारणले आम्दानीमा पनि प्रभावित भएको छ । नेपाल टेलिकमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६र७७ को चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार उक्त अवधिमा कम्पनीको आम्दानी करिब दुई अर्ब रुपियाँले घटेको छ ।
सो प्रतिवेदन अनुसार गत आर्थिक वर्षको वैशाखदेखि असार मसान्तसम्म टेलिकमले ९ अर्ब २२ करोड २४ लाख रुपियाँ आम्दानी गरेको छ । यसमध्ये सेवा बिक्री बापत ७ अर्ब ७३ करोड ८० लाख र अन्य तर्फ एक अर्ब ४८ करोड ४३ लाख रुपियाँ आम्दानी भएको छ ।
त्यसको अघिल्लो आर्थिक वर्ष २०७५र७६ को सोही अवधिमा टेलिकमले ११ अर्ब ३६ करोड ३२ लाख रुपियाँ आम्दानी गरेको थियो । त्यसमध्ये सेवा बिक्री बापत ९ अर्ब २६ करोड र अन्य तर्फ दुई अर्ब रुपियाँ आम्दानी कम्पनीले गरेको थियो ।
कोभिड–१९ सङ्क्रमण रोकथामका लागि मुलुुकमा भएको लकडाउनको उक्त अवधिमा कम्पनीले दुई अर्ब १४ करोड रुपियाँ गुमाएको छ । त्यति मात्र होइन, लकडाउनको अवधिमा टेलिकमको खुद नाफा घटेर ९९ करोड ४० लाख रुपियाँ मात्र पुगेको छ । जबकी आर्थिक वर्ष २०७५र७६ को चौथो त्रैमासिकमा टेलिकमको खुद नाफा दुई अर्ब ५५ करोड ८७ लाख रुपियाँ थियो ।
कोभिड–१९ का कारण टेलिकमले गुमाएको आम्दानीले गत आर्थिक वर्षको समग्र आम्दानी र नाफा नै प्रभावित भएको छ ।




























