हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले विशेष साधारणसभा बोलाएपछि दुई बैंकबीचको मर्जर अब पक्का
Thursday Dec 30, 2021
वि.सं.२०७८ पुस १५ बिहीवार ०९:११

(प्रजिता तामाङ)
काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर पक्का भएको छ । हिमालयन बैंकसँगै मर्जरका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले पनि विशेष साधारणसभा बोलाएपछि दुई बैंकबीचको मर्जर अब पक्का हुने भएको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंकले माघ ४ गतेका लागि विशेष साधारणसभा बोलाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले बुधबार एक सूचना जारी गर्दै विशेष साधारणसभाको लागि आव्हान गरेको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंकले विशेष साधारणसभा आव्हान गरेको सूचनामा भनिएको छ, ‘नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक एक आपसमा मर्जर प्रयोजनका लागि मूल्याकंनकर्ता टीआर उपाध्याय एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्सले तयार गरेको दुवै संस्थाको चल–अचल सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बन्द्ध व्यवस्था समेका आधारमा निर्धारण गरिएको सेयर स्वाप रेसियो १ः१ हुने गरी एक आपसमा गाभ्नका लागि स्वीकृति प्रदान गर्नका लागि विशेष प्रस्ताव पारित गर्ने ।’
हिमालयन बैंकले भने यसअघि नै पुस ३० गतेका लागि नियमित साधारणसभा बोलाएको थियो । हिमालयन बैंकले इन्भेष्टमेन्ट बैंकसँगको मर्जर पारित गर्ने र लाभांश पारित गर्ने प्रस्ताव गर्नका लागि साधारणभा बोलाएको थियो ।
हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्ज भएर फागुनदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुवै बैंकले गत बैशाखमा मर्जरमा जाने सम्झौता गरेका थिए । उक्त सम्झौता अनुसार मर्जरपछि बैंकको अध्यक्ष इन्भेष्टमेन्ट बैंकबाट पृथ्वीबहादुर पाँडे हुने छन् भने प्रमुख कार्यकारी अधिकृत सीईआे हिमालयन बैंकका अशोक राणा हुने छन् ।
























