बेथिति रोकिएको छ, तीन महिनामा धेरै काम भएको छ : प्रधानमन्त्री प्रचण्ड
Friday Mar 31, 2023
वि.सं.२०७९ चैत १७ शुक्रवार १५:२६
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले तीन महिनाको अवधिमा धेरै काम गरेको दाबि गरेका छन् ।
शुक्रबार अखिल नेपाल महिला संघको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले थिति बसाल्न तीन महिनामा महत्वपूर्ण काम भएको बताएका हुन् ।
‘बेथितिहरू अन्त्य गर्न र थिति बसाल्न यस अवधिमा महत्त्वपूर्ण काम भएका छन्। मन्त्रिपरिषदको बैठकले निजी क्षेत्रको समस्या समाधानका लागि मौद्रिक नीतिमा सहजीकरण गरिएको छ। राजश्व संकलनमा सुधार आएको छ, विदेशी मुद्रा सञ्चिति बढेको छ, रेमिट्यान्समा पनि सुधार आएको छ, सेवा प्रवाह गर्ने कार्यालयका लामा लामा लाइन हटेका छन्।
राहदानी, लाइसेन्स लगायतका काममा विगतको झन्झट हटेका छन्। यसलाई ठीक ढंगले बुझेर जनतामा लैजौँ। ’
सरकार गठन भयो तर राष्ट्रिय सहमति खोज्दै जाँदा सहमति नभएको र गठबन्धनमा जानुपर्ने परिस्थिति आएको उनको भनाई छ ।
नेपालको क्रान्तिकारी आन्दोलनमा महिलाहरूले प्रदर्शन गरेको वीरता र बलिदानबाट नेपालमा युगान्तकारी परिवर्तन आएको भन्दै उनले ओझेलमा परेको कामहरुमा सरकारले गति लिने बताएका छन् ।




























