मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओली १० मिनेट मात्र
Sunday Oct 28, 2018
वि.सं.२०७५ कात्तिक ११ आइतवार १३:१९

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली १० मिनेटमात्र मन्त्रिपरिषद् बैठकमा सहभागी भएका छन्। रूघाखोकीसँगै ज्वरोका कारण प्रधानमन्त्री ओली केही दिनयता अस्वस्थ रहेका छन्। उनले मन्त्रिपरिषद्को बैठक समेत बालुवाटरमा डाकेका थिए।
एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीकी कतार भ्रमण स्वीकृति, मलेसियासँगको श्रम सम्झौताका लागि अनुमति दिने र गोरखापत्रको महाप्रबन्धक हटाउने निर्णय गर्दासम्म मात्र बैठकमा सहभागी भएका थिए।
‘उहाँ दश मिनेट जति मात्र बैठकमा बसेर माथि उक्लनुभयो’, ती मन्त्रीले भने, ‘नगरी नहुने विषयमा निर्णय भयो। अन्य एजेण्डा प्रवेश नै भएन।’
राष्ट्रपति भण्डारी सोमबार कतार भ्रमणमा जाँदैछन् भने भोलि नै श्रम सम्झौता गर्न मलेसियाली संशाधन मन्त्री काठमाडौं आउँदैछन्।
‘प्रधानमन्त्रीले स्वास्थ्यमा सुधार हुँदैछ भन्नुभयो। तर उहाँको दाह्री काटिएको छैन, बिरामीको अनुहार देखिन्थ्यो’, ती मन्त्रीले सेतोपाटीसँग भने।
प्रधानमन्त्रीको अस्वस्थताका कारण आज कार्यसूचीमा रहेको प्रदेशलाई प्रहरी परिचालन गर्न दिने कार्यकारी आदेश पनि मन्त्रिपरिषदले स्वीकृत गर्न सकेन।
गृहमन्त्रालयले प्रदेश प्रहरी परिचालनको अन्तरिम कार्यविधि स्वीकृत गरी गत साता मन्त्रिपरषद पठाएको थियो।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले संघीय प्रहरी ऐन नबनुन्जेलका लागि प्रदेशलाई प्रहरी परिचालन गर्न सजिलो होस् भनेर कार्यकारी आदेश ल्याउन लागिएको बताए।
‘प्रदेशमा प्रहरीले रिपोर्टिङ गर्ने, आदेश दिने, सरूवा गर्नेजस्ता कुरा सजिलो होस् भनेर कार्यकारी आदेश ल्याइएको हो,’ प्रवक्ता सुवेदीले भने, ‘मन्त्रिपरिषद्को निर्णयपछि यो लागू हुन्छ।’
यसअघि प्रदेश नम्बर २ ले प्रदेश प्रहरी ऐन पारित गरेको थियो। गृह मन्त्रालयले संघीय प्रहरी ऐन नबनेकाले प्रदेश प्रहरी ऐन लागू गर्नु असंवैधानिक हुने बताएको थियो।
प्रदेश २ ले ऐन बनाए पनि प्रदेश प्रमुखबाट प्रमाणीकरण गराएको छैन।
प्रधानमन्त्री ओली अस्वस्थताका कारण शनिबार आफ्नै पार्टीले आयोजना गरेको चियापानमा सहभागी भएका थिएनन्।
दसैँमा टिका थाप्न पुगेकाहरूलाई टीका लगाइदिएका ओली त्यसयता बालुवाटारबाट बाहिर निस्किएका छैनन्। प्रधानमन्त्रीको स्वास्थ्य जाँच गरेका वीर अस्पतालका डाक्टर दिलीप शर्माका अनुसार ज्वरो आएको भए पनि छातीमा संक्रमण देखिएको छैन। ‘किड्नी फस्ट क्लास छ’, शर्माले भने, ‘हामीले तीन दिन आराम गर्न सुझाव दिएका छौं।’
खास के भएको हो प्रधानमन्त्री ओलीलाई ?
छातीमा संक्रमण भएपछि नेकपाले हिजो शनिबार भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा उपस्थित हुन नसकेका नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका आजका नियमित कार्यक्रम पनि स्थगित गरिएका छन् ।
भाइरल ज्वरोका कारण छातीमा संक्रमण भएपछि प्रधानमन्त्री ओलीलाई तीन दिन आराम गर्न चिकित्सकले सुझाव दिएअनुसार उनी बालुवाटारमा आराम गरेर बसेको बुझिएको छ ।
एघार वर्षअघि ०६४ मा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा संक्रमण भएपछि स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ ।




























