माछापुच्छ्रे बैंकको २०औँ वार्षिक साधारणसभा यही पुस २०गते यस्तो छ कम्पनी विवरण
Friday Jan 04, 2019
वि.सं.२०७५ पुस २० शुक्रवार ०३:१८

२०७५ पौष २०काठमाडौं । माछापुच्छ्रे बैंकको २०औँ वार्षिक साधारणसभा यही पुस बिहान ११ बजे पोखराको होटल पोखरा ग्राण्डमा बस्दै छ । सभाले बैंक संचालक समितिको १० प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई पारित गर्दै छ ।
बैंकले गत आर्थिक वर्ष (आव) २०७४/७५ को मुनाफाबाट सेयरधनीहरुलाई कर सहित १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट अघिल्लो वर्षको तुलनामा ४ प्रतिशत नगद लाभांश बढाएको छ ।
नगद लाभांशको दर बढाएको बैंकले सेयरधनीलाई यस वर्ष बोनस सेयर भने वितरण नगर्ने भएको छ । कम्पनीले अघिल्लो वर्ष (आव २०७३/७४) चुक्ता पुँजीको ९ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांशसहित १५ प्रतिशत लाभांश दिएको थियो ।
नेपाल राष्ट्र बैंकको पुँजी वृद्धिको निर्देशन अनुसार बैंकले ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याईसकेको छ । बैंकले ८ अर्ब बढी चुक्ता पुँजी पुर्याईसकेकाले यस वर्ष सेयरधनीलाई बोनस सेयरको प्रस्ताव नगरेको हो ।
सभाले संस्थापक समूहका सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्दै छ । सञ्चालक समितिमा सर्वसाधारण समूहका सेयरधनीहरुको तर्फबाट कम्तिमा एक जना महिला सञ्चालक रहने व्यवस्था कायम गर्ने कम्पनीको विशेष प्रस्ताव रहेको छ ।
त्यस्तै, उक्त सभाले सञ्चालक समितिको अध्यक्ष र सदस्यको बैठक भत्ता क्रमशः १५ हजार र १२ हजार रुपैयाँ कायम गर्ने कम्पनीको विशेष प्रस्तावलाई अनुमोदन गर्ने छ ।
यस्तो छ कम्पनीको विवरण
बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३८ करोड ६९ लाख रुपैयाँ खुद नाफा गरेको छ । उक्त रकम गत आवको तुलनामा १० करोड रुपैयाँले बढी हो । बैंकले गत आवको सोही अवधिमा २८ करोड ९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
चालु आर्थिको वर्षको असोज मसान्तसम्म बैंकको जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैयाँ संचित गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा उक्त रकम एक अर्ब ३९ करोड रुपैयाँ बढी हो । कम्पनीले गत आवको असोजमसान्तसम्म एक अर्ब ३० करोड रुपैयाँ जगेडा कोषमा जम्मा गरेको थियो ।
गत वर्षको प्रथम त्रैमासमा ५६ करोड ६९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले यस वर्षको सोही अवधिमा ८४ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन रकम २७ करोड रुपैयाँले बढी हो । चालु आवको प्रथम त्रैमासिकमा बैंकले ७१ अर्ब ८० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६ अर्ब ८८ रुपैयाँ बढी हो ।
त्यस्तै, निष्क्रिय कर्जा(एनपीएल) ०.४७, कुल लागत ७.९९ प्रतिशत र कर्जा अनुपात निक्षेप ७८.९२ प्रतिशत रहेको छ । आधार दर ११.२१ प्रतिशत रहेको बैंकको प्रतिसेयर आम्दानी बढेर १८ रुपैयाँ ४६ पैसा पुगेको छ । गत आवको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १४.३५ रुपैयाँ रहेको थियो ।
बैंकले गत आर्थिक वर्षमा १९ लाख ७० हजार ४०० रुपैयाँ बैठक खर्च गरेको छ । जुन अघिल्लो वर्षको भन्दा कम हो । अघिल्लो बर्ष बैंकले २८ लाख ५० हजार ८०० रुपैयाँ बैठक खर्च गरेको थियो । त्यस्तै, बैंकका अध्यक्षले प्रतिबैठक १० हजार र अन्य संचालकहरुले ८ हजार रुपैयाँ भत्ता लिने गरेको कम्पनीको प्रतिवेदनमा उल्लेख रहेको छ ।
हाल बैंकको अध्यक्षमा रोशन केशी तथा संचालकमा गोपीकृष्ण न्यौपाने, जय मुकुन्द खनाल, राममान श्रेष्ठ, विश्वप्रकाश गौतम र ओमेसलाल श्रेष्ठ रहेका छन् ।
























