गाउँपालिका वडा सदस्य माथि गोली प्रहार, नर्भिक अस्पतालमा उपचार हुँदै
Thursday Jul 04, 2019
वि.सं.२०७६ असार १९ बिहीवार ०९:३९

धादिङ, असार १९ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–८ का सदस्य रामजी चेपाङमाथि गोली प्रहार गरिएको छ ।
गोली टाउकोमा लागेर सख्त घाइते भएका चेपाङलाई उपचारका लागि काठमाडौंस्थित नर्भिक अस्पतालमा पुर्याइएको छ । गोठीभञ्जयाङस्थित आफ्नै घरमा बुधबार राति खाना खाइरहेको अवस्थामा उनलाई गोली हानिएको थियो ।
चितवनको राप्ती नगरपालिका १३ गाम्दा निवासी इन्द्रबहादुर चेपाङले गोली हानेको परिवारजनको आरोप छ । दुई महिनाअघि गाम्दामा सञ्चालित कुमार चेपाङ छात्राबासमा बस्ने–२ जना चेपाङ किशोरीलाई बलात्कार प्रयास गरेपछि मुद्दा लागेर फरार रहेका इन्द्रले नै २ नाले भरुवा बन्दुकले गोली प्रहार गरेको प्रारम्भिक सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।
बलात्कार मुद्दामा आफूलाई पक्राउ गर्न प्रहरीलाई सहयोग गरेको रिसइबीमा गोली हानेको हुन सक्ने परिवारजनले जानकारी दिएका छन् ।
























