एनआईसी एशिया बैंकले कोरोना संक्रमण कोषमा १ करोड ७ लाख सहयोग
Tuesday Aug 18, 2020
वि.सं.२०७७ भदौ २ मंगलवार २१:०७

काठमाडौं – एनआईसी एशिया बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड ७ लाख ५९ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तदायित्व बहन गर्दै सो रकम नेपाल सरकारद्वारा स्थापित उक्त कोषको बैंक खातामा जम्मा गरेको छ ।
बैंकले यस अघि समेत आफ्नो सामाजिक उत्तरदायित्व महसुस गर्दै देशका सातै प्रदेश सरकारलाई १५र१५ लाख रुपैयाँ गरी कुल १ करोड ५ लाख रुपैयाँ प्रदान गरिसकेको छ । उक्त सहयोग रकममा बैंकको तर्फबाट १० लाख रुपैयाँ र कर्मचारीको तर्फबाट ५ लाख रुपैयाँ समावेश गरी १५ लाख रुपैयाँका दरले प्रत्येक प्रदेश सरकारलाई सहयोग गरेको थियो ।
साथै, बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत लकडाउनका बेला देशका विभिन्न क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्नेहरूलाई विभिन्न प्रादेशिक तथा स्थानीय सरकार लगायतसँगको सहकार्यमा करिब ४८ लाख रुपैयाँ बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरू समेत वितरण गरिसकेको छ ।




























