३ हजार ३६५ सदस्य संख्या भएको नाडाको ४५ औँ वार्षिक साधारणसभा भदौ २५ गते हुने
Friday Jul 30, 2021
वि.सं.२०७८ साउन १५ शुक्रवार १९:१६

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४५ औँ वार्षिक साधारण सभा तथा २१ औँ निवार्चन भदौ २५ गते हुने भएको छ। शुक्रबार बसेको नाडाको १३ औँ केन्दीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो।
नाडाको संशोधित विधान २०७७ अनुसार सो साधारण सभाले अध्यक्ष लगायत २० जना केन्द्रीय कार्यसमिति सदस्यहरुको निर्वाचन गर्नेछ। अब हुन गइरहेको निवार्चनमा नाडाको अध्यक्ष पदमा व्यवसायी तथा अहिलेका उपाध्यक्ष करण चौधरी र यसअघिका उपाध्यक्ष धुव्र थापाले उम्मेदवारी घोषणा गरिसकेका छन्।
यस्तै नाडाका ८ संस्थागत एशोसियशनका अध्यक्ष स्वतः केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्नेछन्। नाडाका ४ उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षको चयन निर्वाचित केन्द्रीय कार्य समितिको पहिलो बैठकले गर्नेछ। यसरी नाडाको केन्द्रीय कार्य समितिको संख्या कुल २९ जनाको हुने नाडाका अध्यक्ष कुष्णप्रसाद दुलालले जानकारी दिए।
नाडाका अनुसार भदौ १८ गतेसम्म सदस्यता नविकरण नगरेका सदस्यहरुले सदस्यता नविकरण गरिसक्नु पर्नेछ। त्यस्तै कम्पनीहरुले आफ्नो प्रतिनिधि फारम बुझाउने अन्तिम मिति पनि भदौ १८ गते नै रहेको नाडाले जनाएको छ।
नाडाको विधान अनुसार केन्द्रीय समितिले वार्षिक साधारण सभाको मिति तोकेपछि सो अवधिसम्म नाडाको नयाँ सदस्यता लिन पाउने व्यवस्था गरिएको छ। शुक्रबारसम्म नाडाको सदस्य संख्या ३ हजार ३६५ पुगेको छ।

























