नक्कली नोटको कारोबार किन फस्टाउदैछ ? प्रहरीले अहिले सम्म खोरमा कतिलाई जाक्यो ?
Sunday Feb 20, 2022
वि.सं.२०७८ फागुन ८ आइतवार ११:१८
काठमाडौँ। पछिल्लो समय नक्कली नोटको कारोबार बढ्दै गएको छ। प्रहरीले नक्कली नोटको कारोवार गर्ने मानिसलाई पक्राउ गरेको संख्या र बरामद गर्ने नोटको संख्या हेर्दा कारोबारीहरु निकै सक्रिय भएको देखिन्छ। गत बुधबार मात्र प्रहरीले २ लाख ९४ हजार रुपैयाँ नक्कली नोटसहित चार जनालाई पक्राउ गरेको थियो।
महानगरीय अपराध महाशाखाको टोलीले बुधबार दिउँसो काठमाडौं महानगरपालिका-१६ नयाँ बजार मेडिकल चोकबाट चार जनालाई नियन्त्रणमा लिएको थियो। रौतहटको गौर घर भएका २८ वर्षीय पृथ्वीप्रसाद साह,२७ वर्षीय मोहम्मद मुसरफ अली, ३० वर्षीय असरफ अली सहिद र वर्ष २८ वर्षीय महमद शम्साद आलमलाई नियन्त्रणमा लिएको हो। उनीहरुले काठमाडौं उपत्यका बाहिरबाट नक्कली नोट ल्याएको प्रहरीमा बयान दिएका छन्।
चालु आर्थिक वर्षको ६ महिनामा मात्र देशभरबाट ५५ जनालाई प्रहरीले नक्कली नोट सहित पक्राउ गरेको छ। यसरी पक्राउ पर्नेहरुमा ८ जना विदेशी नागरिक समेत रहेका छन्। साउनमा ५ जना, भदौमा ११ जना, असोजमा १३ जना, कार्तिकमा ४ जना, मंसिरमा ११ जना र पुसमा ११ जना समातिएका छन्।
गएको आर्थिक वर्षममा देशभर ४० लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको नक्कली नोट फेला परेको थियो। जसमा ४३ जना मानिस समातिएका थिए। आर्थिक वर्ष २०७६/७७ मा ६३ जना समातिएका थिए। त्यस्तै १ करोड ९१ लाख ८९ हजार १ सय रुपैयाँको नक्कली नोट समेत भेटिएको थियो।
यसरी समातिएका मानिसहरु मध्ये धेरैले फोटोकपी मेसिनको प्रयोग गरेर नक्कली नोट छापेको बताएका थिए। कतिपय ठाउँमा प्रहरीले कोठाबाट नै नक्कली नोट छाप्ने फोटोकापी मेसिन र अन्य सामानहरु पनि बरामद गरेको थियो।
























