सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सिईओमा शिवनाथ पाण्डे नियुक्त
Sunday Mar 26, 2023
वि.सं.२०७९ चैत १२ आइतवार २३:१३
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शिवनाथ पाण्डे नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले पाण्डेलाई आइतबार सीइओ बन्न स्वीकृति दिएको हो ।सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले मर्जरपछि बनेको सानिमा रिलायन्स लाइफको सीईओ पदमा पाण्डेलाई नियुक्त गर्न सिफारिस गरेको थियो । दुई कम्पनीले सानिमा रिलायन्स लाइफको नामबाट चैत ९ गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेका छन् ।
यसअघि भने उनी साविकको सूर्या लाइफ इन्स्योरेन्सको सीईओ थिए । चार्टर्ड एकाउन्टेन्ट पाण्डेसँग राष्ट्र बैंकमा काम गरेको ३० बर्षे अनुभव छ। उनी २० बर्षदेखि व्यवस्थापकीय पदमा थिए।
३० बर्षे कार्यकालका कारण अवकाश भएका पाण्डे डेपुटी गभर्नरका लागि प्रत्यासी थिए। अन्तिम समयमा आएर उनको नियुक्ति रोकिएको थियो। नियमन र सुपरिवेक्षकीय व्यवस्थापनमा दक्ष मानिएका पाण्डे पछिल्लो समय बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक थिए।
सानिमा रिलायन्स नियुक्त भएपछि पाण्डेले बैंकिङ अनुभवलाई बीमा क्षेत्रमा प्रयोग गर्ने बताए।


























