राष्ट्रिय वाणिज्य बैंकको देशव्यापी वित्तीय साक्षरता कार्यक्रमबाट ५५९० जना लाभान्वित
Thursday Mar 28, 2024
वि.सं.२०८० चैत १५ बिहीवार २२:३४
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको ग्लोबल मनी विकको सन्दर्भमा देशव्यापी रुपमा सञ्चालित वित्तीय साक्षरता कार्यक्रमबाट ५५९० जना लाभान्वित भएका छन् ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रुपमा सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमबाट उल्लेखित संख्यामा लाभान्वित भएको सी बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ग्लोबल मनी विक २०२४ लाई सफल बनाउने उद्देश्यले बैंकले देशैभरीका सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।
यही चैत्र ५ गतेदेखि ११ गतेसम्म ग्लोबल मनी विक २०२४ देशव्यापी रुपमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको हो । ग्लोबल मनी विक वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रुपमा मनाउँदै आएको साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो ।
नेपाल राष्ट्र बैंकले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन, २०७८ बमोजिम बैकको देशैभरीका शाखा कार्यालयहरूले विद्यार्थी, युवा, प्रहरी, कर्मचारी, मजदुर, कृषक, साना उद्यमी, महिला विप्रेषण प्रापक ग्राहकहरूलाई लक्षित गरी एक सप्ताहसम्म ज्ञान, सीप तथा बैंकिङ्ग आदत सिकाउन उद्देश्यले वित्तीय सचेतना कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २८७ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग, ७१ वटा एक्सटेन्सन काउन्टर रहेको छ ।



























