नेपाल लाइफ इन्स्योरेन्सले २४औँ वार्षिकोत्सव देशव्यापी रुपमा भव्यताका साथ मनायो

Monday May 05, 2025
वि.सं.२०८२ वैशाख २२ सोमवार २२:२२

काठमाडौं, नेपाल — नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाएको छ।
कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम र काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी वार्षिकोत्सवलाई अर्थपूर्ण बनाएको हो। सातै प्रदेशमा सञ्चालन गरिएको रक्तदान कार्यक्रममार्फत कुल ४१२ पिन्ट रगत संकलन गरिएको कम्पनीले जानकारी दिएको छ।
रक्तदान कार्यक्रमअन्तर्गत कोशी प्रदेशको इटहरीमा ५६, मधेश प्रदेशको वीरगञ्जमा ३०, बागमती प्रदेशको काठमाडौंमा ८२, गण्डकी प्रदेशको पोखरामा ६१ र कावासोतीमा ३९, लुम्बिनी प्रदेशको बुटवल र भैरहवामा ३०–३० तथा नेपालगञ्जमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३१ र सुदूरपश्चिम प्रदेशको टीकापुरमा २८ पिन्ट रगत संकलन गरिएको हो।
त्यसैगरी, कम्पनीको केन्द्रीय कार्यालयमा २ दिने निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो, जसमा सर्वसाधारणले स्वास्थ्य परामर्श र परीक्षण सेवा प्राप्त गरेका थिए।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले २४औँ वर्ष पूरा गरी २५औँ वर्षमा प्रवेश गरेको यस विशेष अवसरमा शुभकामना व्यक्त गर्दै कम्पनीलाई निरन्तर मार्गदर्शन गर्ने सञ्चालक समिति, शेयरधनी, ग्राहक, अभिकर्ता, कर्मचारी, नियामक निकाय तथा सबै सरोकारवालाप्रति धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले आगामी दिनमा पनि कम्पनीले सबैको माया, विश्वास र सहकार्य प्राप्त गर्ने अपेक्षा व्यक्त गर्नुभयो।
नेपाल लाइफ इन्स्योरेन्सले विगत २४ वर्षदेखि नेपाली बीमा बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ र आफ्ना ग्राहकहरूलाई भरपर्दो जीवन बीमा सेवा प्रदान गर्दै आएको छ।