जति नचाएपनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै गर्छः मन्त्री पौडेल

Wednesday May 07, 2025
वि.सं.२०८२ वैशाख २४ बुधवार १३:०६

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै गर्ने बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही समय लाग्नसक्ने तर अन्ततः नेतृत्व नयाँ पुस्तामै जाने बतउनुभयो ।
मुलुकमा थुप्रै कामहरु गर्न बाँकी रहेको भन्दै मन्त्री पौडेलले धेरै गर्नुपर्नेछ सकिँदैन भन्ने सोच राखेर पलायन हुनु भन्दा अरुले गरेनन् म गर्छु भन्ने भावनासहित अघि बढ्न आवश्यक रहेको बताउनुभयो समस्या सबैलाई थाहा भएपनि त्यसको समाधान पहिचान गर्न नसकेको उहाँको भनाइ छ । उहाँले त्यसैले अबको युवा पुस्ताले समस्या र त्यसको समाधानसहित राजनीतिमा आउनुपर्ने उल्लेख गर्नुभयो ।
मन्त्री पौडेलले भन्नुभयो, ‘यो मुलुकमा थुप्रै विषयहरु छन् । धेरै गर्नुपर्नेछ । अब धेरै गर्नुपर्नेछ, यो गर्न सकिँदैन भनेर पलायन हुने हो की, अरुले गर्न सकेनन्, म गर्दछु भनेर अग्रसरता देखाउने हो ? त्यसैले समस्या हामी सबैलाई थाहा छ । तर समाधान कसैलाई पनि थाहा छैन की जस्तो छ । त्यसैले समाधान दिनेगरी नेतृत्वमा आउने कोशिस गर्नुस् । त्यसको निम्ति अनुरोध गर्न चाहन्छु ।
जति नचाए पनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिन्छ । केही समय लाग्नसक्छ । अफ्ठ्याराहरु हुनसक्छन् । अन्ततः नेतृत्व नयाँ विषयहरु ल्याउनेहरुकै पक्षमा जान्छ । नयाँ विषय ल्याउनेहरुकै आकर्षण बढेर जान्छ । तर म उमेरले कान्छो हुँ, मैले नेतृत्व पाउनुपर्छ भनेर प्राप्त हुँदैन ।’