नेपाल बैंक लिमिटेड ८९औँ वर्ष प्रवेश : प्रधानमन्त्री, अर्थमन्त्री र राष्ट्र बैंक गर्भनरबाट विशेष शुभकामना
Sunday Nov 16, 2025
वि.सं.२०८२ कात्तिक ३० आइतवार ०८:०१
काठमाडौं। नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेड ८९औँ वर्ष प्रवेशको अवसरमा प्रधानमन्त्री, अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनरले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गरेका छन्।
प्रधानमन्त्रीले बैंकको ऐतिहासिक योगदानको उच्च प्रशंसा गर्दै नेपाल बैंकले अर्थतन्त्रको स्थायित्व, वित्तीय पहुँच विस्तार तथा आधुनिक बैंकिङ प्रणाली विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन्। उहाँले आगामी दिनमा प्रविधिमैत्री, दिगो र पारदर्शी सेवा विस्तार गर्दै राष्ट्रको आर्थिक समृद्धिमा थप योगदान पुर्याउने अपेक्षा व्यक्त गरेका छन्।
त्यसैगरी अर्थमन्त्रीले बैंकले विगत ८९ वर्षमा वित्तीय प्रणालीको विस्तार, जनताको बैंकिङ पहुँच वृद्धि तथा आर्थिक क्रियाकलाप सुदृढीकरणमा अत्यन्त सकारात्मक योगदान दिएको बताए। बैंकले अपनाइरहेको सुधारोन्मुख व्यवस्थापन, नवीन सेवा र डिजिटल प्रणालीले वित्तीय क्षेत्रमा प्रतिस्पर्धात्मकता बढाएको उनको भनाइ छ।
नेपाल राष्ट्र बैंकका गर्भनरले नेपाल बैंकलाई मुलुकको बैंकिङ इतिहासको आधारस्तम्भका रूपमा व्याख्या गर्दै वित्तीय अनुशासन, जोखिम व्यवस्थापन तथा स्थायित्व अभिवृद्धिमा बैंकको भूमिकालाई महत्वपूर्ण बताए। बैंकले वित्तीय साक्षरता र डिजिटल बैंकिङ प्रवर्द्धनमा पुर्याइरहेको योगदानको समेत प्रशंसा गरिएको थियो।
नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८९ वर्ष पूरा गर्दै विभिन्न कार्यक्रम र सेवा विस्तारका योजनासहित वार्षिकोत्सव मनाइरहेको छ।



























