CG Electronics
IME Life
Ncell NPL

प्लास्टिक सर्जरी केवल सौन्दर्य होइन, पुनर्निर्माणको महत्वपूर्ण विधा हो : डा.अनुप थापा

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । प्लास्टिक सर्जरीलाई नेपालमा अझै पनि धेरैले केवल सौन्दर्यसँग जोडेर हेर्ने गरेका छन्। तर अरिन अस्पतालमा समेत सेवा दिइरहेका प्लास्टिक सर्जन डाक्टर अनुप थापाका अनुसार वास्तविकता भने फरक छ ।

उनका अनुसार प्लास्टिक सर्जरी केवल अनुहार सुन्दर बनाउने वा कस्मेटिक प्रयोजनका लागि मात्र नभई शरीरका विभिन्न अंगको पुनर्निर्माण, दुर्घटनापछि क्षतिग्रस्त भागको उपचार, जन्मजात विकृति सुधार तथा जलनजस्ता जटिल अवस्थाको उपचारमा समेत महत्वपूर्ण भूमिका खेल्ने विशिष्ट शल्यक्रिया विधा हो।

उनले प्लास्टिक सर्जरीको कुनै निश्चित अंग वा शरीर प्रणाली नहुने भन्दै यो टाउकोदेखि खुट्टासम्म शरीरको जुनसुकै भागमा आवश्यकताअनुसार गर्न सकिने शल्यक्रिया भएको धारणा राखे ।

उनले भने, ‘प्लास्टिक सर्जरीको आफ्नो कुनै निश्चित अंग या कुनै प्रणाली छैन । आधारभूत र विशेष सिद्धान्तहरूमा अडिक रहेर शरीरको टाउकोदेखि खुट्टासम्म सबै भागमा गर्न सकिने एउटा शल्यक्रियाको विधा हो । प्लास्टिक सर्जरीलाई लिएर नेपालमा जनचेतनाको स्तर एकदम कम छ । धेरैजसोले प्लास्टिक सर्जरी भनेपछि कस्मेटिक सर्जरीलाई मात्र बुझ्ने गर्छन् । चलचित्रमा देखेजस्तो एउटा अनुहारलाई अर्कोमा परिवर्तन गर्ने, स्कारलेस सर्जरी मात्र हो भन्ने खालको बुझाइ छ ।’

उनका अनुसार प्लास्टिक सर्जरीलाई मुख्यतः दुई भागमा विभाजन गर्न सकिन्छ—सौन्दर्यात्मक (कस्मेटिक) र पुनर्निर्माणात्मक (रिकन्स्ट्रक्टिभ)। सौन्दर्यात्मक शल्यक्रियामा अनुहारको बनावट सुधार, बडी कन्टोरिङ, दाग हटाउने, नाक वा कानको आकार मिलाउनेजस्ता प्रक्रिया पर्छन् । यस्ता सर्जरीले व्यक्तिको आत्मविश्वास बढाउन मद्दत गर्ने भएकाले यसको मनोवैज्ञानिक महत्व पनि उत्तिकै रहेको उनले बताए।

यता पुनर्निर्माणात्मक शल्यक्रियामा क्यान्सरपछि हटाइएका अंगको पुनःनिर्माण, जन्मजात विकृति,जस्तै–नाकको असामान्यता, कान नहुनु, ओठ फाटेको अवस्था, दुर्घटनापछि अंगभंग भएका भागको पुनःसंरचना तथा जलनका बिरामीको उपचार समावेश हुन्छ । नेपालजस्तो देशमा जलन, दुर्घटना र ट्रमाका केस धेरै हुने भएकाले प्लास्टिक सर्जरीको आवश्यकता अझ बढी रहेको डाक्टर थापाको भनाइ छ ।

उनले भने, ‘सौन्दर्यात्मक, जसलाई कस्मेटिक सर्जरी पनि भन्छौं र अर्को पुनर्निर्माण अर्थात् रिकन्स्ट्रक्टिभ सर्जरी हो । यसलाई दुई भागमा विभाजन गरेर बुझ्न सकिन्छ । सौन्दर्यात्मक भनेको अनुहारको बनावट परिवर्तन गर्ने, बडी कन्टोरिङ गर्ने जस्ता कुरा हुन् । पुनर्निर्माण भनेको क्यान्सरपछि हटाइएको शरीरको अङ्गलाई फेरि पहिलाको अवस्थामा ल्याउने, जन्मजात नाकको खुडेपन, कान नहुनु जस्ता समस्याको पुनर्निर्माण गर्ने हो ।’

उनले पछिल्लो समय प्लास्टिक सर्जरीको क्षेत्रमा टिस्यु इन्जिनियरिङ, जेन्डर परिवर्तन सर्जरीजस्ता नयाँ विधा पनि थपिँदै गएको बताए । लिङ्ग पहिचानअनुसार शरीर परिवर्तन गर्ने शल्यक्रिया नेपालमा पनि सुरु भइसकेको उल्लेख गर्दै उनले यो पनि प्लास्टिक सर्जरीकै महत्वपूर्ण हिस्सा भएको बताए।

नेपालमा प्लास्टिक सर्जरीबारे जनचेतना अझै न्यून रहेको उनको निष्कर्ष छ । धेरै मानिसले प्लास्टिक सर्जरी भन्नासाथ केवल कस्मेटिक सर्जरी वा चलचित्रमा देखाइने अनुहार परिवर्तन गर्ने प्रकारको कल्पना गर्ने गरेको उनले बताए । अझ स्वास्थ्यकर्मीहरूमाझ समेत प्लास्टिक सर्जरीको पूर्ण दायरा नबुझिएको अवस्था रहेको उनको अनुभव छ ।

उनले भने, ‘जनचेतना फैलाउन एकदम आवश्यक छ । धेरै स्वास्थ्यकर्मीहरूलाई समेत प्लास्टिक सर्जरी भनेको के हो भन्ने स्पष्ट थाहा छैन । पश्चिमी देशहरूमा मानिसहरूले प्लास्टिक सर्जरीको दायरा राम्रोसँग बुझेका छन्, तर हाम्रो जस्तो देशमा अझैपनि यसलाई केवल लक्जरी वा अनावश्यक कुरा भनेर हेरिन्छ।’

उनका अनुसार कस्मेटिक सर्जरीलाई समाजले केवल विलासिताको रूपमा हेर्नु गलत धारणा हो। कतिपय अवस्थामा एउटा सानो दाग, कोठी वा अनुहारको विकृतिले मानिसको आत्मविश्वास र मानसिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ।
उनले भने, ‘कस्मेटिक सर्जरीले कतिपय व्यक्तिको सेल्फ कन्फिडेन्स नै परिवर्तन गरिदिन्छ । अनुहारमा सानो दाग, कोठी वा नराम्रो चोटले मनोवैज्ञानिक असर परिरहेको हुन्छ। त्यसलाई सुधार गर्दा व्यक्तिको प्रस्तुति, आत्मविश्वास र सामाजिक जीवनमा ठूलो परिवर्तन आउँछ ।’

प्लास्टिक सर्जरीमा सानो देखिने काम पनि अत्यन्त चुनौतीपूर्ण हुने उनको भनाइ छ । एउटा सानो दाग हटाउँदा पनि त्यसलाई शरीरको प्राकृतिक रेखासँग मिलाएर, बाहिरबाट नदेखिने गरी उपचार गर्नु नै वास्तविक सीप भएको उनले बताए ।
‘हेर्दा सजिलो जस्तो लागे पनि यो धेरै चुनौतीपूर्ण हुन्छ । एउटा दाग हटाउनु पाँच मिनेटको काम जस्तो देखिन्छ, तर त्यसलाई अनुहारमा नदेखिने गरी, शरीरकै प्राकृतिक मुजासँग मिलाएर लुकाउनु नै प्लास्टिक सर्जरीको सिद्धान्त हो । त्यसका लागि धेरै अभ्यास र धैर्यता चाहिन्छ,’ उनले भने ।

प्लास्टिक सर्जरीपछि बिरामीले अपनाउनुपर्ने सावधानीबारे पनि उनले विशेष जोड दिए। धूम्रपान, मद्यपान, तनाव, अनिद्रा र जंक फूडले घाउ निको हुने प्रक्रियालाई असर गर्ने भएकाले यस्ता कुराबाट टाढा रहनुपर्ने उनले बताए ।

यसमा थप्दै उनले भने, ‘यदि प्लास्टिक सर्जरीपछि राम्रो हिलिङ चाहिएको छ भने धूम्रपान गर्नु हुँदैन । केही महिना अगाडि नै छाडेको राम्रो हुन्छ । राम्रो निद्रा, पोषिलो खाना, कम तनाव र शरीरको राम्रो हेरचाह आवश्यक हुन्छ । सुगर, इन्फेक्सन, इम्युनिटी कम हुने अवस्था-यी सबैले घाउ निको हुने प्रक्रियामा असर गर्छन् ।’

विशेषगरी मधुमेह, उच्च रक्तचाप, रोग प्रतिरोधात्मक क्षमता कम हुने अवस्था, क्यान्सर उपचारपछिको इम्युनोथेरापी जस्ता कारणले घाउ निको हुने प्रक्रिया प्रभावित हुने भएकाले यस्ता अवस्थालाई नियन्त्रणमा राखेर मात्र शल्यक्रिया गर्नु उपयुक्त हुने उनको सुझाव छ ।

नेपालमा प्लास्टिक सर्जनको संख्या अत्यन्त न्यून रहेको भन्दै उनले यसलाई गम्भीर चुनौतीको रूपमा चित्रण गरे । जलन, दुर्घटना, जन्मजात विकृति तथा पुनर्निर्माणात्मक उपचारका लागि प्लास्टिक सर्जरीको आवश्यकता बढ्दो भएपनि विशेषज्ञ जनशक्ति न्यून रहेको उनको भनाइ छ ।

‘जनस्तरको आवश्यकताभन्दा धेरै कम प्लास्टिक सर्जन छौं। जलनदेखि दुर्घटनापछिको पुनस्र्थापना, जन्मजात विकृति सुधारदेखि सौन्दर्यात्मक सर्जरीसम्म सबै क्षेत्रमा यसको आवश्यकता छ,’ उनले भने, ‘तर जनशक्तिको अवस्था निकै कमजोर छ, जुन चिन्ताजनक विषय हो ।’

खर्चको हिसाबले नेपालमा प्लास्टिक सर्जरी विदेशको तुलनामा निकै सस्तो रहेको उनले बताए । यही कारण विदेशमा रहेका नेपाली तथा विदेशी नागरिकहरू पनि उपचारका लागि नेपाल आउने गरेको उनको अनुभव छ ।

उनले भने, ‘विदेशको तुलनामा नेपालमा प्लास्टिक सर्जरी धेरै सस्तो छ । बाहिर यसको लागत कल्पना गर्न नसकिने स्तरसम्म महँगो हुन्छ । यही कारण विदेशबाट पनि बिरामीहरू नेपालमा उपचारका लागि आउनुहुन्छ । यद्यपि, प्लास्टिक सर्जरीमा दक्षता, समय र योजना धेरै लाग्ने भएकाले सामान्य शल्यक्रियाभन्दा केही महँगो देखिन सक्छ।’

डाक्टर थापाले अरिन अस्पतालमा पुनर्निर्माणात्मकदेखि सौन्दर्यात्मकसम्मका सबै प्रकारका प्लास्टिक सर्जरी सेवा राष्ट्रिय स्तरको मापदण्डअनुसार उपलब्ध रहेको जानकारी दिए । जटिल शल्यक्रियाहरू टिमवर्कमा गरिने र कहिलेकाहीँ १४–१५ घण्टासम्म शल्यक्रिया चल्ने उनले बताए । उनका अनुसार सफल प्लास्टिक सर्जरीका लागि योजना, विशेषज्ञता र सहकार्य सबैभन्दा महत्वपूर्ण पक्ष हुन् ।

काठमाडौं महानगरको शिक्षा : तीन अर्बभन्दा बढी बजेट र ‘डिजिटल’ कक्षाकोठा

काठमाडौं महानगरको शिक्षा : तीन अर्बभन्दा बढी...

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:२१

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र बसोबास गर्ने...

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...