पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
Sunday Aug 09, 2026
वि.सं.२०८३ साउन २४ आइतवार ०९:२७
पोखरा, साउन २०८३ । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रालिमार्फत पोखरा महानगरपालिका–१०, बुद्धचोकमा सञ्चालनमा ल्याइएको सर्भिस सेन्टरसँगै पोखरामा बीवाईडीको थ्री–एस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सुविधा पूर्ण रूपमा सञ्चालनमा आएको हो।
नयाँ सर्भिस सेन्टरको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका हुन्। बीवाईडीले नेपालभर बिक्रीपछिको सेवा सञ्जाल विस्तार गरिरहेका बेला पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनुलाई कम्पनीले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।
यसअघि पोखरामा बीवाईडीका ग्राहकले कम्पनीबाट तालिमप्राप्त थर्ड पार्टी सर्भिस पार्टनरमार्फत बिक्रीपछिको सेवा लिँदै आएका थिए। अब भने ग्राहकले बीवाईडीकै आधिकारिक सेवा सञ्जालमार्फत अत्याधुनिक प्राविधिक सेवा, जेन्युइन स्पेयर पार्ट्स, विशेष उपकरण तथा कम्पनीबाट तालिमप्राप्त प्राविधिकको सेवा पाउने भएका छन्।
साइमेक्स इंकका हेड अफ सर्भिस सुशील तण्डुकारले सवारी बिक्रीपछि मात्र ग्राहकसँगको सम्बन्ध सुरु हुने बताउँदै स्वामित्व अवधिभर सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता रहेको बताए।
“बीवाईडीको सवारी खरिद गर्नु भनेको ग्राहकसँगको हाम्रो सम्बन्धको सुरुवात मात्र हो। हाम्रो जिम्मेवारी सम्पूर्ण स्वामित्व अवधिभर कायम रहन्छ,” उनले भने, “विश्वस्तरीय पूर्वाधार, दक्ष प्राविधिक, जेन्युइन स्पेयर पार्ट्स तथा ग्राहककेन्द्रित सेवामार्फत उत्कृष्ट र इमानदार सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताको निरन्तरता हो।”
करिब ७ हजार २३३ वर्गफिट क्षेत्रफलमा फैलिएको सर्भिस सेन्टर विद्युतीय सवारीसाधनको मर्मत तथा सेवा आवश्यकतालाई लक्षित गरी निर्माण गरिएको कम्पनीले जनाएको छ। सेन्टरमा चारवटा आधुनिक भेइकल लिफ्ट, छुट्टाछुट्टै मर्मत क्षेत्र, हाई–भोल्टेज प्रणालीमा काम गर्ने विशेष कार्यक्षेत्र, जेन्युइन बीवाईडी स्पेयर पार्ट्स स्टोरेज र डेडिकेटेड भेइकल वासिङ बे रहेका छन्।
सर्भिस सेन्टरले दैनिक १५ देखि १६ वटा सवारीसाधनलाई सेवा दिन सक्ने क्षमता राख्ने बताइएको छ। यसबाट ग्राहकको प्रतीक्षा समय घट्नुका साथै बिक्रीपछिको सेवा थप प्रभावकारी हुने कम्पनीको अपेक्षा छ।
यहाँ नियमित मर्मत सेवा, ब्याट्री परीक्षण, मेकानिकल तथा इलेक्ट्रिकल रिपेयर, डेन्ट तथा पेन्ट सेवा, रोडसाइड असिस्टेन्स, वारेन्टी सर्भिस र जेन्युइन स्पेयर पार्ट्स उपलब्ध हुनेछन्। साथै, ग्राहकका लागि डेडिकेटेड सर्भिस एडभाइजर तथा सीआरएम टोलीमार्फत व्यक्तिगत सेवा पनि प्रदान गरिनेछ।
बीवाईडीले नेपालमा आफ्नो बिक्रीपछिको सेवा सञ्जाल विस्तारलाई प्राथमिकता दिँदै आएको छ। पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आएसँगै गण्डकी प्रदेश तथा आसपासका क्षेत्रका ग्राहकले थप सहज, भरपर्दो र गुणस्तरीय सेवा पाउने अपेक्षा गरिएको छ।
आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा बीवाईडीले नयाँ पुस्ताका विद्युतीय सवारीसाधन सार्वजनिक गर्ने तयारी गरिरहेका बेला बिक्रीपछिको सेवा सञ्जाल विस्तारलाई कम्पनीको नेपाली बजारप्रतिको दीर्घकालीन प्रतिबद्धताका रूपमा हेरिएको छ।
नेपालको विद्युतीय सवारी बजारमा अग्रणी ब्रान्डका रूपमा रहेको बीवाईडीले सवारी बिक्रीसँगै विश्वस्तरीय सर्भिस इकोसिस्टम निर्माणमा पनि लगानी बढाउँदै आएको जनाएको छ। पोखराको नयाँ सर्भिस सेन्टरले देशभरको सेवा सञ्जाललाई थप मजबुत बनाउने कम्पनीको विश्वास छ।























