स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ कनेक्टेड नेपालमा सार्वजनिक
Friday Aug 14, 2026
वि.सं.२०८३ साउन २९ शुक्रवार ००:१४
काठमाडौं । सुजुकी मोटरसाइकल नेपालले स्मार्ट कनेक्टिभिटी सुविधासहितको नयाँ सुजुकी एक्सेस १२५ कनेक्टेड मोडल सार्वजनिक गरेको छ । कम्पनीले नाइमा अटो शो २०२६ मा उक्त स्कुटर सार्वजनिक गरेको हो।
नयाँ एक्सेस १२५ मा ब्लुटुथमार्फत स्मार्टफोनसँग कनेक्ट गर्न सकिने डिजिटल एलसीडी डिस्प्ले र सुजुकी राइड कनेक्ट सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यस सुविधामार्फत स्कुटर चलाइरहेका बेला आवश्यक विभिन्न जानकारी सहजै प्राप्त गर्न सकिनेछ।
स्कुटरमा टर्न–बाई–टर्न नेभिगेसनसँगै अनुमानित यात्रा समय, आउने फोनको सूचना, एसएमएस तथा ह्वाट्सएप नोटिफिकेसन, मिस्ड कल अलर्ट, मोबाइलको ब्याट्री र नेटवर्कसम्बन्धी जानकारी उपलब्ध हुनेछ। साथै स्पिड अलर्ट, ट्रिप रेकर्ड, स्कुटर पार्क गरिएको अन्तिम स्थान तथा सर्भिस रिमाइन्डरजस्ता स्मार्ट सुविधा पनि समावेश गरिएको छ।
कनेक्टिभिटी सुविधाका अतिरिक्त नयाँ एक्सेस १२५ मा सुजुकीको १२४ सीसी इन्जिन रहेको छ। दैनिक सहरी यात्रालाई थप सहज, सुविधाजनक र स्मार्ट बनाउने उद्देश्यले स्कुटरमा विभिन्न व्यावहारिक सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ।
सुजुकी मोटरसाइकल नेपालका महाप्रबन्धक पारस जैनले नयाँ एक्सेस १२५ कनेक्टेड मोडलमार्फत नेपाली स्कुटर प्रयोगकर्ताका लागि उपयोगी स्मार्ट प्रविधि ल्याइएको बताए। स्मार्ट कनेक्टिभिटी, सहजता र सुजुकीको विश्वसनीय प्रदर्शनको संयोजनले नयाँ मोडल कम्पनीको उत्पादन पोर्टफोलियोमा थप आकर्षक बन्ने उनको विश्वास छ।
नयाँ सुजुकी एक्सेस १२५ कनेक्टेड मोडल नाइमा अटो शो २०२६ मा रहेको सुजुकीको प्याभिलियनमा प्रदर्शनमा राखिएको छ।
नेपालमा सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भी.जी. अटोमोबाइल्स प्रालि हो।























