नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य र शिक्षाका लागि सहयोग
Tuesday Aug 18, 2026
वि.सं.२०८३ भदौ २ मंगलवार २३:४७
भाद्र २, २०८३, मंगलबार | काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत कास्कीको पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य सेवा तथा शिक्षाको क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले तीन विभिन्न संस्थालाई सहयोग प्रदान गरेको छ
बैंकले सशस्त्र प्रहरी बल, नेपाल; नेपाल रेडक्रस सोसाइटी, कास्की; तथा नेपाल भारत मैत्री पुस्तकालय, कास्कीलाई आवश्यक सामग्री तथा पूर्वाधार विस्तारका लागि सहयोग गरेको हो।
यसअन्तर्गत फेवा तालमा उद्धार कार्यमा प्रयोग हुने उद्धार उपकरणहरू सुरक्षित रूपमा भण्डारण गर्न सशस्त्र प्रहरी बल, नेपाललाई बोट हाउस निर्माणका लागि सहयोग प्रदान गरिएको छ। त्यसैगरी, रक्तसञ्चार सेवाको सुदृढीकरणका लागि नेपाल रेडक्रस सोसाइटी, कास्कीलाई पोर्टेबल ब्लड ब्याग ट्यूब सीलर उपलब्ध गराइएको छ। नेपाल भारत मैत्री पुस्तकालय, कास्कीलाई भने पुस्तकालयको भौतिक पूर्वाधार विस्तार तथा पुस्तक एवं पत्रपत्रिका खरिदका लागि सहयोग प्रदान गरिएको बैंकले जनाएको छ।
पोखरामा आयोजित एक कार्यक्रममा भारतीय स्टेट बैंकका उपप्रबन्ध निर्देशक श्री किशोर कुमार पोलुदासु तथा नेपाल एसबिआई बैंकका अध्यक्ष श्री मुनीष कुमार चान्दनाले उक्त सहयोग सामग्री क्रमशः सशस्त्र प्रहरी बल, नेपालका डीआईजी श्री प्रवीण कँडेल, नेपाल रेडक्रस सोसाइटी, कास्कीकी सभापति श्रीमती उर्मिला खड्का भण्डारी तथा नेपाल भारत मैत्री संघ, कास्कीका अध्यक्ष श्री किरणलाल श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत श्री राम कुमार तिवारी, सञ्चालकहरू श्री रितेश सिन्हा, श्री भरत राज बस्ती र श्रीमती अप्सरा उप्रेती, भारतीय स्टेट बैंकका महाप्रबन्धक श्री मो. रिजवान आलम, उपमहाप्रबन्धक श्री प्रिय रञ्जन, नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत श्री विकास आनन्द, प्रमुख वित्तीय अधिकृत श्री राजेश कुमार पण्डा, प्रमुख अनुपालन अधिकृत श्री विष्णु देव यादव तथा प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत श्री प्रबिन मुनि बज्राचार्यलगायत बैंक तथा सम्बन्धित संस्थाका वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
बैंकले यस्ता सामाजिक उत्तरदायित्वका पहलमार्फत समुदायमा सकारात्मक सामाजिक प्रभाव सिर्जना गर्दै सार्वजनिक सुरक्षा, स्वास्थ्य सेवा, शिक्षा तथा समग्र सामुदायिक विकासमा निरन्तर योगदान पुर्याउने विश्वास लिएको जनाएको छ।
नेपाल एसबिआई बैंक लिमिटेडले विगत ३३ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकले १०३ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, २१ शाखारहित बैंकिङ इकाई, १२७ एटीएम तथा कर्पोरेट कार्यालयमार्फत आफ्ना सेवाहरू प्रदान गर्दै आइरहेको छ।
























