काठमाडौँमा पाकिस्तान दूतावास मा पाकिस्तान राष्ट्रिय दिवस अवसरमा झण्डोत्तोलन
Wednesday Mar 25, 2026
वि.सं.२०८२ चैत ११ बुधवार ०९:३१
काठमाडौं। पाकिस्तान राष्ट्रिय दिवस (मार्च २३) को अवसरमा काठमाडौँस्थित पाकिस्तान दूतावास मा आज एक विशेष समारोह आयोजना गरिएको छ। समारोहमा पाकिस्तानका राजदूत अब्रार एच हाश्मी ले दूतावास भवनमा राष्ट्रिय झण्डा फहराएका थिए।
कार्यक्रममा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी, प्रधानमन्त्री शहबाज शरीफ तथा उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक डार का सन्देशहरू वाचन गरिएको थियो।
राष्ट्रपति जरदारीले आफ्नो सन्देशमा राष्ट्रिय एकता र सहकार्यलाई बलियो बनाउँदै देशलाई अघि बढाउनुपर्नेमा जोड दिएका थिए। उनले आतंकवाद र अतिवाद अन्त्य, कानुनी शासन सुदृढीकरण तथा महिला सशक्तीकरणमा ध्यान दिनुपर्ने बताएका छन्।

प्रधानमन्त्री शरीफले मार्च २३ लाई दक्षिण एसियाको इतिहासमा महत्वपूर्ण दिनका रूपमा उल्लेख गर्दै क्षेत्रीय शान्तिका लागि जम्मु कश्मीर मुद्दाको न्यायोचित समाधान आवश्यक रहेको बताएका छन्। साथै उनले मध्यपूर्वको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्यालेस्टाइन का जनताप्रति ऐक्यबद्धता जनाएका छन्।
विदेशमन्त्री डारले पाकिस्तानको स्वतन्त्रताका लागि पुर्खाहरूले दिएको योगदानको स्मरण गर्दै जम्मु कश्मीर का जनताको आत्मनिर्णयको अधिकारप्रति समर्थन दोहोर्याएका छन्।

राजदूत हाश्मीले कार्यक्रममा सहभागी नेपाली तथा पाकिस्तानी समुदायलाई बधाई दिँदै नेपाल–पाकिस्तान सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे। उनले मोहम्मद अली जिन्ना को नेतृत्व तथा ऐतिहासिक १९४० मार्च २३ को महत्व स्मरण गरेका थिए।
त्यसैगरी, मध्यपूर्वमा जारी द्वन्द्वप्रति दुःख व्यक्त गर्दै यस वर्ष प्रधानमन्त्रीको निर्देशनअनुसार पाकिस्तान राष्ट्रिय दिवसको औपचारिक स्वागत समारोह आयोजना नगरिने जानकारी पनि दिइएको छ।





























