डिजिटल बैंकिङमा अर्को फड्को: महालक्ष्मी विकास बैंकको नयाँ QR भुक्तानी सेवा सुरु
Monday Apr 20, 2026
वि.सं.२०८३ वैशाख ७ सोमवार २३:३४
काठमाडौं । महालक्ष्मी विकास बैंक ले UnionPay International सँगको सहकार्यमा अन्तरदेशीय QR भुक्तानी सेवा सुरु गरेको छ। बैंकले आफ्नो फोनपे QR मर्चेन्ट नेटवर्कमार्फत UnionPay वालेट प्रयोगकर्ताबाट नेपालभित्रै QR कोड स्क्यान गरी भुक्तानी स्वीकार गर्ने सुविधा सुरु गरेको जनाएको छ।
यो सेवा Fonepay मार्फत लागू गरिएको हो। यससँगै UnionPay डिजिटल वालेट प्रयोगकर्ताले नेपालभर रहेका महालक्ष्मी विकास बैंकका QR मर्चेन्टहरूमा सहज रूपमा भुक्तानी गर्न सक्नेछन्। विशेषगरी चीन लगायत विभिन्न देशबाट नेपाल आउने पर्यटकहरू यस सेवाबाट लाभान्वित हुने विश्वास गरिएको छ। यसले नगद बोक्नु पर्ने आवश्यकता समेत कम गर्ने अपेक्षा गरिएको छ।
सन् २००२ मा स्थापना भएको UnionPay विश्वका प्रमुख भुक्तानी सेवा प्रदायकहरूमध्ये एक हो। यसले ९.६ अर्बभन्दा बढी कार्ड जारी गरिसकेको छ भने १८० भन्दा बढी देश तथा क्षेत्रमा यसको स्वीकृति रहेको छ। नयाँ सेवासँगै नेपालमा विद्यमान QR भुक्तानी पूर्वाधार अझ प्रभावकारी हुने बैंकको विश्वास छ। साथै डिजिटल नवप्रवर्द्धनलाई सुरक्षित, प्रभावकारी तथा समावेशी बनाउने प्रतिबद्धता बैंकले जनाएको छ।
यसैबीच बैंकले वर्ष २०८३ लाई “डिजिटल प्रवर्द्धन वर्ष” का रूपमा मनाउने योजना अनुसार “महालक्ष्मी स्मार्ट साथी” मोबाइल एप प्रयोगकर्ताका लागि विशेष योजना ल्याएको छ। वैशाख महिनाको पहिलो हप्ताभित्र कम्तीमा एक सफल कारोबार गर्ने सक्रिय मोबाइल बैंकिङ प्रयोगकर्तामध्ये गोलाप्रथाबाट तीन जनाले आकर्षक भ्रमण प्याकेज जित्ने अवसर पाउनेछन्।
“सबल बैंक, सफल सहकार्य” को नारासहित सेवा प्रदान गर्दै आएको बैंकका देशभर १०३ शाखा कार्यालय तथा करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहक रहेका छन्।




























