सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड १९ वर्ष पूरा, २०औं वर्षमा प्रवेश
Monday Apr 20, 2026
वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४९
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड ले स्थापना भएको १९ वर्ष पूरा गरी २०औं वर्षमा प्रवेश गरेको अवसरमा आफ्नो १९औं वार्षिकोत्सव मनाएको छ। २०६४ साल वैशाख ७ गते २०औं वाणिज्य बैंकको रूपमा स्थापना भएको बैंकले हालसम्म २० लाख ११ हजारभन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ।
देशका सातै प्रदेशमा आफ्नै भवनमा प्रदेश कार्यालय सञ्चालन गरिरहेको बैंकले २०० शाखामार्फत चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म करिब २ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
वार्षिकोत्सवको अवसरमा बैंकले सातै प्रदेशमा ९४६ कर्मचारीको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ। यसबाट जनमानसमा वित्तीय सचेतना अभिवृद्धि हुने अपेक्षा गरिएको छ। साथै, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल रेडक्रस सोसाइटी सँगको सहकार्यमा २० शाखामार्फत ५५० जनाको सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ।
त्यसैगरी विभिन्न प्रदेशका शाखाहरूले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन्, जसबाट करिब ५०० सेवाग्राही लाभान्वित भएका छन्। शिविरमा स्वास्थ्य परीक्षणसँगै आवश्यक औषधि समेत निःशुल्क वितरण गरिएको बैंकले जनाएको छ।
बैंकले ग्राहकलाई सहज, सुरक्षित र प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यले मोबाइल बैंकिङमार्फत केवाईसी विवरण अनलाइन अद्यावधिक गर्ने सुविधा समेत सुरु गरेको छ। साथै, एपीआईमा आधारित बैंकिङ प्रणालीमार्फत ग्राहकलाई वास्तविक समयमा ब्यालेन्स जाँच तथा स्टेटमेन्ट हेर्न सकिने सुविधा उपलब्ध गराइएको छ।
साथै, “फोनपे कर्पोरेट सोलुसन्स” सेवा सञ्चालनमा ल्याई मोबाइल, कम्प्युटर वा एपीआई प्रणालीमार्फत शाखामा नगई भुक्तानी तथा निक्षेपसम्बन्धी कारोबार गर्न सकिने व्यवस्था गरिएको छ।
बैंकले “बैंक अफ द इयर २०२४ र २०२५” जस्ता अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिसकेको छ। हाल बैंकका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत आधुनिक बैंकिङ सेवा प्रदान हुँदै आएको छ।




























