चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान
Monday May 11, 2026
वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८
काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी ग्रुपले आफ्ना कर्मचारीहरूको दीर्घ सेवा, समर्पण र योगदानको कदर गर्दै आज “एम्प्लोयी सर्भिस माइलस्टोन रिकग्निसन प्रोग्राम” मार्फत सम्मान गरेको छ ।
ललितपुरको द प्लाजामा आइतबार आयोजित कार्यक्रममा ग्रुपअन्तर्गतका विभिन्न कम्पनी तथा व्यवसायिक इकाइमा लामो समयदेखि कार्यरत २६३ कर्मचारीहरूलाई विशेष सम्मान प्रदान गरिएको हो ।
“अनरिङ माइलस्टोन्स, सेलिब्रेटिङ यू” भन्ने उदेश्य सहित आयोजित कार्यक्रममा १० वर्षभन्दा बढी तथा २० वर्षभन्दा बढी सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।
त्यस्तै तीन वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई समेत कम्पनीले कदर पत्र प्रदान गर्दै उनीहरूको योगदानको उच्च सम्मान गरेको थियो । चौधरी ग्रुपले कार्यक्रममार्फत कर्मचारीहरूको संस्थाप्रतिको निष्ठा, मेहनत र निरन्तर योगदानको उच्च मूल्यांकन गरेको हो ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी, चौधरी ग्रुपकी निर्देशक सारिका चौधरी तथा संस्थाका शीर्ष नेतृत्वले दिर्घ सेवा गर्ने कर्मचारीहरुलाई कदर पत्र सहित सम्मान वितरण गर्नुभएको थियो ।
कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले कर्मचारीहरू नै संस्थाको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै दीर्घकालीन समर्पण र विश्वासकै कारण चौधरी ग्रुपले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गर्न सकेको बताए । “हाम्रो सफलताको आधार नै हाम्रो टिम हो ।
कर्मचारीहरूको निरन्तर मेहनत, निष्ठा र प्रतिबद्धताले नै चौधरी ग्रुपलाई आजको स्थानमा पुर्याएको हो । हामी केवल व्यवसाय निर्माण गरिरहेका छैनौं, हामी विश्वास, सम्बन्ध र भविष्य निर्माण गरिरहेका छौं,” उनले भने ।
चौधरी ग्रुपले कर्मचारीमैत्री कार्यसंस्कृति, दीर्घकालीन करिअर विकास तथा संस्थाप्रतिको अपनत्वलाई सुदृढ बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ ।
कार्यक्रममा सहभागी कर्मचारीहरूले संस्थाबाट प्राप्त सम्मानले आफूहरूलाई थप प्रेरित र जिम्मेवार बनाएको प्रतिक्रिया दिएका थिए ।




























