युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले
Sunday Jun 14, 2026
वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यताको अन्त्य गर्ने आधार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले तयार गरेको बताउनुभएको छ। बजेटको प्रभावकारी कार्यान्वयनमार्फत आगामी पाँच वर्षभित्र युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण निर्माण गरिने उहाँले दाबी गर्नुभयो।
आइतबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३’ लाई सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेले विगत डेढदेखि दुई दशकसम्म नेपाली युवाहरू रोजगारी तथा अवसरको खोजीमा विदेशिन बाध्य भएको यथार्थलाई अब क्रमशः अन्त्य गरिने बताउनुभयो।
“पछिल्लो १५–२० वर्षदेखि देशका युवाहरू आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता आइलागेको छ । अब त्यस्तो स्थिति आउन नदिन जग बसाल्न बजेटबाट सुरु गरेका छौँ । बजेटको कार्यान्वयनले त्यसको बाटो समात्छ,” उहाँले भन्नुभयो।
अर्थमन्त्री वाग्लेले सरकारले ल्याएको नयाँ बजेट युवामैत्री रहेको उल्लेख गर्दै उद्यमशीलता प्रवर्द्धन, रोजगारी सिर्जना तथा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने विभिन्न व्यवस्था समेटिएको बताउनुभयो।
उहाँका अनुसार बजेटमार्फत कर प्रणालीलाई थप सरल बनाइएको छ। वार्षिक एक लाख रुपैयाँसम्म आम्दानी गर्ने युवाहरूलाई करको झन्झटबाट मुक्त गर्ने व्यवस्था गरिएको छ भने साना तथा नयाँ उद्यमीहरूलाई सहज वातावरण उपलब्ध गराउन विभिन्न सहुलियतहरू घोषणा गरिएको छ।
त्यस्तै, विगतका कर तथा बक्यौता सम्बन्धी समस्याका कारण व्यवसाय सञ्चालनमा कठिनाइ भोगिरहेका उद्योगी–व्यवसायीहरूलाई नयाँ सुरुआत गर्ने अवसर प्रदान गर्ने गरी बजेटमा विशेष व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो। सरकारले उपलब्ध गराएका सहुलियतहरूको अधिकतम उपयोग गर्न उहाँले उद्यमीहरूलाई आग्रह समेत गर्नुभयो।
अर्थमन्त्री वाग्लेले सरकारी प्रशासनको डिजिटल रूपान्तरण, सुशासन र सेवा प्रवाहमा सुधारलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै यिनै सुधारहरूले आर्थिक गतिविधि विस्तार तथा उद्यमशीलता विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले बजेट निर्माणका क्रममा पर्याप्त गृहकार्य गरिएको उल्लेख गर्दै उहाँले युवाका नवीन सोच, सीप र योजनालाई व्यवहारमा उतार्न सरकारले आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

























