कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै
Friday Jul 03, 2026
वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२
काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रार कार्यालयमा आकस्मिक अनुगमन तथा निरीक्षण गर्नुभएको छ। मन्त्रालयका सचिवसहितको टोलीसहित कार्यालय पुग्नुभएका मन्त्री यादवले सेवा प्रवाह, डिजिटल प्रणालीको कार्यान्वयन तथा जनशक्ति व्यवस्थापनबारे जानकारी लिनुभएको हो।
निरीक्षणका क्रममा कम्पनी रजिष्ट्रार कार्यालयकी प्रमुख कृष्णकुमारी श्रेष्ठले पछिल्लो समय कार्यालयमा गरिएको सुधार र प्रविधिमैत्री सेवाबारे जानकारी गराउनुभएको थियो। उहाँका अनुसार कम्पनी दर्ता प्रक्रियालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा रूपान्तरण गर्ने कार्य अघि बढाइएको छ, जसबाट सेवाग्राहीले घरबाटै कम्पनी दर्ताका लागि आवेदन दिन, आवश्यक कागजात पेश गर्न तथा प्रक्रिया पूरा गर्न सक्ने व्यवस्था गरिएको छ।
यसैगरी कम्पनी दर्तापश्चात् स्थायी लेखा नम्बर (PAN) प्राप्त गर्न आन्तरिक राजस्व कार्यालयमा छुट्टै जानुपर्ने झन्झट हटाउन सम्बन्धित प्रणालीहरूबीच एकीकरण गरिएको कार्यालयले जनाएको छ। यस व्यवस्थाले सेवाग्राहीको समय तथा लागत बचत हुने विश्वास गरिएको छ।
कार्यालयले सेवाग्राहीका गुनासा तथा जिज्ञासाको सम्बोधन गर्न कृत्रिम बौद्धिकता (AI) मा आधारित कल सेन्टर सञ्चालनमा ल्याउने तयारीसमेत गरेको जनाएको छ। यसबाट कम्पनी दर्ता सम्बन्धी जानकारी र सेवामा पहुँच अझ सहज हुने अपेक्षा गरिएको छ।
अनुगमनका क्रममा मन्त्री यादवले कार्यालयका विभिन्न शाखाको अवलोकन गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउन निर्देशन दिनुभएको थियो। सर्वसाधारणले कुनै पनि प्रकारको अनावश्यक झन्झट भोग्न नपर्ने गरी सेवा प्रणालीलाई थप सुदृढ बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
डिजिटल प्रणालीको प्रभावकारी कार्यान्वयनसँगै जनशक्ति व्यवस्थापनमा पुनर्संरचना आवश्यक रहेको भन्दै कम्पनी रजिष्ट्रार कार्यालयले २८ प्रतिशत कर्मचारी कटौतीको प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमक्ष पेस गरेको जनाएको छ। कार्यालयका अनुसार प्रविधिको अधिकतम प्रयोगबाट कम जनशक्तिबाट पनि छिटो, सरल र प्रभावकारी सेवा प्रवाह गर्न सकिने भएकाले प्रशासनिक खर्चसमेत घट्ने अपेक्षा गरिएको छ।
अनुगमन कार्यक्रममा मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहित उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। टोलीले कार्यालयका विभिन्न कार्यकक्षहरूको निरीक्षण गरी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएको थियो।






















