समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना फैलाउँदै वल्र्डलिंक
Wednesday Jul 08, 2026
वि.सं.२०८३ असार २४ बुधवार १४:००
काठमाडौं। वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ‘वल्र्डलिंक इन्टरनेट एकेडेमी’ कार्यक्रममार्फत समुदायस्तरमा सुरक्षित इन्टरनेट प्रयोग, डिजिटल साक्षरता तथा साइबर जोखिम न्यूनीकरणसम्बन्धी सचेतना अभियान सञ्चालन गरेको छ।
कम्पनीका अनुसार गत साउन २०८२ देखि जेठ २०८३ सम्म काठमाडौं उपत्यकाका विभिन्न समुदायमा सञ्चालन गरिएका १२ वटा तालिममार्फत ३९२ जना प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। कार्यक्रममा जिम्मेवार इन्टरनेट प्रयोग, अनलाइन सुरक्षा, साइबर बुलिङ, व्यक्तिगत गोपनीयता संरक्षण, डिजिटल उत्पीडन, अनलाइन ठगी तथा गलत सूचनाका जोखिमबारे व्यावहारिक जानकारी प्रदान गरिएको थियो।
कम्पनीकी प्रमोटर सेयरहोल्डर तथा सीएसआर डाइरेक्टर अनुपा भण्डारी जालानले विद्यालयमा सञ्चालन हुँदै आएको सुरक्षित इन्टरनेटसम्बन्धी सचेतना कार्यक्रमलाई समुदायको मागका आधारमा यस आर्थिक वर्षदेखि समुदायस्तरसम्म विस्तार गरिएको बताइन्। उनका अनुसार अभियानले इन्टरनेटका अवसर र चुनौतीबारे जानकारी दिँदै सुरक्षित तथा जिम्मेवार डिजिटल अभ्यासलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।

यसअघि चालु आर्थिक वर्षमा भक्तपुरको चाँगुनारायण नगरपालिकासँगको सहकार्यमा १९ वटा विद्यालयका करिब १,४९० विद्यार्थीलाई पनि यस्तै तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ। विद्यालयबाट प्राप्त सकारात्मक प्रतिक्रिया र समुदायस्तरको मागपछि कार्यक्रम विस्तार गरिएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार कार्यक्रममा प्रयोग गरिएको तालिम सामग्री नेपाल प्रहरीको साइबर ब्युरोबाट अध्ययन तथा अनुमोदन गरिएको छ। महिला मानव अधिकार संस्था, काठमाडौं महानगरपालिका वडा नं. ९ र १० तथा टोखा नगरपालिकाका सबै वडासँगको सहकार्यमा सञ्चालन गरिएका कार्यक्रमहरूमा महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय समुदायका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
वल्र्डलिंकले आगामी वर्षहरूमा पनि डिजिटल समावेशीकरण, डिजिटल साक्षरता तथा सुरक्षित इन्टरनेट प्रयोगलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम थप समुदायमा विस्तार गर्ने जनाएको छ।

























