नाईमा अटो एक्स्पोमा डोङफेङका दुई मोडलका बस सार्वजनिक, मूल्य १ करोड १४ लाख ५० हजारदेखि
Wednesday Aug 12, 2026
वि.सं.२०८३ साउन २७ बुधवार २२:३३
काठमाडौं । हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रतिष्ठित अटोमोबाइल कम्पनी डोङफेङ (DONGFENG) का बस नेपाली बजारमा सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको नाईमा अटो एक्स्पोमा कम्पनीले डोङफेङका दुईवटा बस मोडल सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार सार्वजनिक गरिएका बसमध्ये एउटा ७.२ मिटरको २५ प्लस १ सिट क्षमताको र अर्को ७.२ मिटरकै २७ प्लस १ सिट क्षमताको रहेको छ । यी बसको मूल्य १ करोड १४ लाख ५० हजार रुपैयाँदेखि सुरु हुने कम्पनीले जनाएको छ ।
अटो एक्स्पोमा बुकिङ गर्ने पहिलो ५० जना ग्राहकलाई ५ लाख रुपैयाँसम्मको विशेष छुट दिने योजना समेत कम्पनीले ल्याएको छ । यस योजनाले नेपाली बजारमा डोङफेङका बसप्रति ग्राहकको आकर्षण बढाउने अपेक्षा गरिएको छ ।
डोङफेङ मोटर कर्पोरेसन सन् १९६९ मा स्थापना भएको चीनको प्रमुख अटोमोबाइल उत्पादकमध्ये एक हो । कम्पनीले यात्रुवाहक तथा व्यावसायिक सवारी, बस, ट्रक, विद्युतीय सवारीसाधन तथा विशेष प्रयोजनका सवारी उत्पादन गर्दै आएको छ । डोङफेङका सवारीसाधन विश्वका १०० भन्दा बढी देशमा निर्यात हुँदै आएका छन् ।
नेपालमा डोङफेङ ब्रान्डका ट्रक, कार तथा माइक्रोबस यसअघि नै बिक्री हुँदै आएका छन् । अब बस सेग्मेन्टमा प्रवेशसँगै नेपाली बजारमा कम्पनीको उपस्थिति थप विस्तार हुने अपेक्षा गरिएको छ ।
हिमालयन अर्गनाइजेसनअन्तर्गतका कम्पनीहरूले यसअघि भारतको फोर्स मोटर्स तथा चीनको एसएआईसी ग्रुपअन्तर्गतको म्याक्ससका सवारीसाधनको नेपालका लागि आधिकारिक विक्रेताका रूपमा काम गर्दै आएका छन् ।
नेपाल सरकारले ठूला विद्युतीय बसलाई प्राथमिकता दिन थालेको र नेपाली ग्राहकमा पनि ठूला क्षमताका विद्युतीय बसको माग बढ्दै गएको अवस्थालाई ध्यानमा राखेर डोङफेङका बस नेपाल ल्याइएको कम्पनीको भनाइ छ ।
कम्पनीले ग्राहकको मागअनुसार बसमा थप सुविधा तथा उपकरण जडान गर्न सकिने जनाएको छ । हाल सार्वजनिक गरिएको बसमा पाँच वर्ष वा २ लाख किलोमिटरको वारेन्टी उपलब्ध गराइएको छ भने ग्राहकले थप तीन वर्षको एक्स्टेन्डेड वारेन्टीसमेत खरिद गर्न सक्नेछन् ।
त्यस्तै, ग्राहकको आवश्यकताअनुसार एसी जडान गर्न सकिने, लक्जरी सिट राख्न सकिने तथा बसमा थप एउटा वा दुईवटा प्रवेशद्वारसमेत जडान गर्न सकिने कम्पनीले जनाएको छ । दुईवटा प्रवेशद्वार राख्दा दुईवटा सिट घट्ने व्यवस्था रहेको छ ।
कम्पनीका अनुसार निकट भविष्यमा ८.२ मिटरको स्कुल बस, ९ मिटरको ३८ सिट क्षमताको बस र १२ मिटरको ५२ सिट क्षमताको बससमेत नेपाली बजारमा ल्याउने तयारी भइरहेको छ । ती मोडलको मूल्य तथा अन्य प्राविधिक विवरण भने पछि सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
डोङफेङले नेपालमा उपलब्ध अन्य ब्रान्डका बसको तुलनामा प्रतिस्पर्धी तथा कम मूल्यमा आफ्ना बस सार्वजनिक गर्ने तयारी गरेको कम्पनीको दाबी छ । यससँगै बस बजारमा प्रतिस्पर्धा थप तीव्र हुने अपेक्षा गरिएको छ ।
बुकिङ गर्ने ग्राहकलाई विशेष छुट उपलब्ध गराउने योजना समेत कम्पनीले अघि सारेको छ । बिक्रीपछिको सेवा तथा स्पेयर पार्ट्सको उपलब्धता हिमालयन अर्गनाइजेसनअन्तर्गतका विभिन्न कम्पनीका शाखा तथा डिलरमार्फत देशका विभिन्न सहरमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
























