सामसङ नेपालले सार्वजनिक गर्यो ग्यालेक्सी जेड फोल्ड ८ सिरिज, प्रि-अर्डरमा ६८ हजार रुपैयाँसम्मका सुविधा
Monday Aug 17, 2026
वि.सं.२०८३ भदौ १ सोमवार ०८:३८
काठमाडौं । सामसङ नेपालले नयाँ पुस्ताको ग्यालेक्सी जेड फोल्ड ८ सिरिज सार्वजनिक गरेको छ। कम्पनीले ग्यालेक्सी एआई र थप स्मार्ट इकोसिस्टमसहित ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड ८ र ग्यालेक्सी जेड फ्लिप ८ नेपाली बजारमा सार्वजनिक गरेको हो।
कम्पनीले ग्यालेक्सी वाच ९ र ग्यालेक्सी वाच अल्ट्रा २ पनि सार्वजनिक गरेको जनाएको छ। आठौँ पुस्ताको फोल्डेबल स्मार्टफोनमार्फत सामसङले ठूलो एआई कार्यक्षेत्र, सहज स्वामित्व, पहुँच र दिगोपनलाई केन्द्रमा राखेको जनाएको छ।
सामसङका अनुसार ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा र जेड फोल्ड ८ का ठूला डिस्प्लेले एआईमार्फत विभिन्न काम गर्न थप ठूलो कार्यक्षेत्र उपलब्ध गराउनेछन्। यसबाट प्रयोगकर्ताले पटक–पटक एप परिवर्तन नगरी समीक्षा, तुलना, सिर्जना तथा आवश्यक काम गर्न सक्ने कम्पनीको दाबी छ।
त्यस्तै, ग्यालेक्सी जेड फ्लिप ८ ले कम्प्याक्ट स्वरूपमै छिटो एआई अन्तरक्रिया र सिर्जनात्मक अनुभव प्रदान गर्ने बताइएको छ। नयाँ ग्यालेक्सी वाच सिरिजले स्वास्थ्य तथा वेलनेससम्बन्धी कनेक्टेड अनुभवलाई थप विस्तार गर्ने कम्पनीले जनाएको छ।
किस्ताबन्दी, ट्रेड–इन र कनेक्टिभिटीमा जोड
सामसङले प्रिमियम स्मार्टफोनको स्वामित्वलाई सहज बनाउन विभिन्न साझेदारसँग मिलेर फाइनान्सिङ, ट्रेड–इन, कनेक्टिभिटी तथा अन्य सुविधा उपलब्ध गराउने जनाएको छ।
एचएफएलमार्फत ४० प्रतिशत डाउन पेमेन्टमा २४ महिनासम्म किस्ताबन्दी सुविधा उपलब्ध हुनेछ। योग्य उच्चस्तरीय ग्राहकका लागि किस्ताबन्दी अवधि ३६ महिनासम्म विस्तार गर्ने तथा डाउन पेमेन्ट २० प्रतिशतसम्म झार्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।
यससँगै ट्रेड–इन बोनस, कनेक्टिभिटी सुविधा तथा रेमिट्यान्ससँग जोडिएको नगद फिर्ताको योजना पनि अघि सारिएको छ।
कम्पनीले डिजिटलदेखि खुद्रा बिक्रीसम्मको सम्पूर्ण प्रक्रियालाई एउटै कनेक्टेड अनुभवमा जोड्ने तयारी गरेको जनाएको छ। आईएमएस र हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा ग्राहकले डिजिटल योग्यता जाँच, सुविधा छनोट, प्रि-अर्डर, डेलिभरी तथा सामसङ ब्रान्ड स्टोरबाट उत्पादन प्राप्त गर्ने प्रक्रिया सहज बनाइने बताइएको छ।
पुराना उपकरणको पुनःप्रयोगमा पनि प्राथमिकता
ट्रेड–इनका लागि आएका योग्य पुराना उपकरणलाई एप्कुडो र स्थानीय साझेदारसँगको सहकार्यमा परीक्षण, मूल्याङ्कन तथा प्रशोधन गरिने कम्पनीले जनाएको छ।
प्रयोगयोग्य अवस्थामा रहेका उपकरणलाई मर्मत गरी पुनःप्रयोगमा ल्याउन सकिने जनाइएको छ। यसबाट पुराना उपकरणको आयु बढ्नुका साथै विद्युतीय फोहोर कम गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ।
एकीकृत साझेदारी इकोसिस्टम
सामसङले एचएफएल, ईसेवा, एनसेल, एप्कुडो, रेमिट्यान्स साझेदार, आईएमएस तथा हिम इलेक्ट्रोनिक्सलाई एउटै इकोसिस्टममा जोड्ने जनाएको छ। यी साझेदारमार्फत फाइनान्सिङ, कनेक्टिभिटी, ट्रेड–इन, रिवार्ड तथा ओम्निच्यानल सेवालाई एकीकृत रूपमा सञ्चालन गर्ने कम्पनीको योजना छ।
सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङले नयाँ ग्यालेक्सी जेड सिरिजमार्फत नेपालमा प्रिमियम प्रविधि मात्र नभई सम्पूर्ण स्वामित्व यात्रालाई थप स्मार्ट बनाउने उद्देश्य रहेको बताए।
उनले भने, “परम्परागत स्मार्टफोनले एआईलाई एउटा झ्याल दिन्छ भने फोल्डेबलले एआईलाई एउटा कार्यस्थल दिन्छ।”
उनका अनुसार सामसङले आफ्ना साझेदारसँगको सहकार्यमा नेपाली ग्राहकका लागि थप विकल्प, दीर्घकालीन मूल्य र नयाँ सम्भावना सिर्जना गर्न चाहेको छ।
प्रि-अर्डर खुला, ६८ हजार रुपैयाँसम्मका लाभ
सामसङले नयाँ ग्यालेक्सी जेड सिरिजका लागि अगस्ट १३, २०२६ देखि प्रि-अर्डर खुला गरेको छ। प्रि-अर्डर स्टक उपलब्ध रहुन्जेलसम्म खुला रहने कम्पनीले जनाएको छ।
कम्पनीले भीआईपी र सामान्य गरी दुई प्रकारका प्रि-अर्डर प्याकेज सार्वजनिक गरेको छ।
भीआईपी प्रि-अर्डर प्याकेजमा ६८ हजार रुपैयाँसम्मका सुविधा उपलब्ध हुनेछन्। यसमा दुई वर्षका लागि निःशुल्क एनसेल अनलिमिटेड डेटा तथा भ्वाइस प्याक, १५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस, ग्यालेक्सी वाच ९ वा वाच अल्ट्रा २ मा १० हजार रुपैयाँ छुट, छ महिनाका लागि निःशुल्क गुगल एआई प्रो, निःशुल्क फोन कभर तथा थप दुई वर्षको वारेन्टी सुविधा समावेश छ। थप वारेन्टीका लागि भने शुल्क लाग्ने कम्पनीले जनाएको छ।
त्यस्तै, सामान्य प्रि-अर्डर प्याकेजमा ५८ हजार रुपैयाँसम्मका सुविधा उपलब्ध हुनेछन्। यसमा दुई वर्षका लागि निःशुल्क एनसेल अनलिमिटेड डेटा तथा भ्वाइस प्याक, १५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस, छ महिनाका लागि निःशुल्क गुगल एआई प्रो, निःशुल्क फोन कभर तथा थप दुई वर्षको वारेन्टी सुविधा समावेश गरिएको छ।
























