नेपालमा हिप-हपको नयाँ अध्याय: ‘हसल बाइ नेपहप’ चाँडै आउँदै
Tuesday Aug 18, 2026
वि.सं.२०८३ भदौ २ मंगलवार २३:३५
काठमाडौं। वर्षौंदेखि अण्डरग्राउण्ड साइफर हुँदै सुरु भएर आज हाउसफुल कन्सर्ट गर्ने अवस्थासम्म आइपुग्दा आफ्नो प्रभावलाई फराकिलो बनाउँदै आएको नेपाली हिप-हप अब नयाँ चरणमा प्रवेश गर्दैछ। मलिन मिडियाले भारतीय फ्रेन्चाइज MTV Hustle लाई नेपालमा ‘Hustle by NepHop’ का रूपमा ल्याउन लागेको छ। नेपाली टेलिभिजन च्यानलमार्फत प्रसारण हुने यो एक प्रिमियम र्याप रियालिटी शो हुनेछ। यो कार्यक्रम नेपाली हिप-हप म्युजिक, यसका कलाकार र हिप-हप कल्चरलाई ध्यानमा राखेर राष्ट्रिय स्तरको छुट्टै मञ्च प्रदान गर्ने सुरुवाती कार्यक्रमहरूमध्ये एक हुने अपेक्षा गरिएको छ।
हिप-हप म्युजिक कुनै समय सीमित समूहको रुचिमा मात्र सीमित थियो। तर अहिले यो नेपालमा धेरै नै रुचाइने संगीत विधामध्ये एक बनेको छ। उदयीमान कलाकारहरूले ठूलो संख्यामा दर्शक तथा श्रोता कमाइरहेका छन् भने नेपाली र्याप गीतहरूले अनलाइनमा लाखौं भ्युज पाउन थालेका छन्। यस्तो समयमा आउन लागेको ‘Hustle by NepHop’ ले नेपाली संगीतको मूलधारमा हिप-हपले आफ्नो बलियो स्थान बनाइसकेको सन्देश पनि दिन्छ।
यो कार्यक्रम प्रतिस्पर्धा, मेन्टरसिप र सम्भावना भएका प्रतिभालाई प्रस्तुत गर्ने अन्तर्राष्ट्रिय रियालिटी शोको अवधारणामा आधारित हुनेछ। तर यसको केन्द्रमा भने नेपालकै आवाज, सन्दर्भ र कथाहरू रहनेछन्।
यसलाई विश्व संगीत क्षेत्रमा नेपालको बढ्दो उपस्थितिको अर्को संकेतका रूपमा पनि हेरिएको छ। पछिल्लो समय नेपाली कलाकारहरूले अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो प्रभाव बढाउँदै दर्शक तथा श्रोता बनाउँदै आएका छन्। ‘Hustle by NepHop’ जस्तो हिप-हपका लागि समर्पित मञ्चले यस विधालाई क्षणिक ट्रेन्डका रूपमा मात्र नभई दीर्घकालीन सम्भावना बोकेको संगीत क्षेत्रका रूपमा हेरिएको संकेत गर्छ।
‘Hustle by NepHop’ ले स्थापित र्यापरदेखि नयाँ प्रतिभासम्मलाई राष्ट्रिय स्तरमा आफ्नो कला प्रस्तुत गर्ने सहि प्लेटफर्म दिने लक्ष्य राखेको छ। प्रस्तुति, कथा र प्रतिस्पर्धालाई एकसाथ जोड्ने यस कार्यक्रमले नेपालको हिप-हप कम्युनिटीभित्र रहेको विविधता र विलक्षण प्रतिभाहरूलाई उजागर गर्नेछ।
























