एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ निष्कासनका लागि सम्झौता
Wednesday Aug 19, 2026
वि.सं.२०८३ भदौ ३ बुधवार ०८:१३
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र रुपाकोट रिसोर्ट लिमिटेडबीच भविष्यमा सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने उद्देश्यले निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ।
एनआईसी एशिया क्यापिटलले आफ्नो ‘IDEA to IPO’ सेवा अन्तर्गत विभिन्न क्षेत्रका कम्पनीलाई कम्पनी स्थापना कालदेखि आईपीओ निष्कासनको चरणसम्म आवश्यक पर्ने सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आएको छ। सोही सेवा अन्तर्गत रुपा गाउँपालिका–६, मैदान, कास्कीमा कारोवार कार्यालय रहेको रुपाकोट रिसोर्ट लिमिटेडलाई प्रचलित कानूनबमोजिम भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन गर्न आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउने गरी सम्झौता गरिएको हो।
सम्झौताअनुसार एनआईसी एशिया क्यापिटलले रुपाकोट रिसोर्टलाई निजी कम्पनीबाट पब्लिक कम्पनीमा रूपान्तरणदेखि साधारण शेयर निष्कासनसम्म आवश्यक प्रक्रिया तथा परामर्श सेवा प्रदान गर्नेछ।
पोखरा, कास्कीमा अवस्थित रुपाकोट रिसोर्ट नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रमा आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै आएको छ। प्राकृतिक सौन्दर्य, शान्त एवं रमणीय वातावरण, हिमाली शृंखलाको मनोरम दृश्य तथा रुपा र बेगनास तालको मनमोहक दृश्यावलोकन गर्न सकिने भौगोलिक अवस्थिति रिसोर्टका प्रमुख विशेषता रहेका छन्।
पोखरा उपत्यकाको पर्यटन सम्भावनालाई ग्रामीण तथा प्राकृतिक पर्यटनसँग जोड्दै रुपाकोट क्षेत्रलाई उच्चस्तरीय आतिथ्य सेवा, प्रकृति अवलोकन तथा विश्रामका लागि उपयुक्त गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले रिसोर्टले आफ्नो सेवा विस्तार गर्दै आएको जनाएको छ।
पछिल्लो समय रिसोर्टले आधुनिक सुविधा र स्थानीय प्राकृतिक तथा सांस्कृतिक परिवेशबीच सन्तुलन कायम गर्दै पाहुनालाई आरामदायी तथा अविस्मरणीय आतिथ्य अनुभव प्रदान गर्दै आएको छ। यहाँ उपलब्ध आवासीय सुविधा, भोजन तथा पेय पदार्थ सेवा, मनोरञ्जन, विश्राम तथा विभिन्न कार्यक्रम सञ्चालन गर्न सकिने पूर्वाधारका कारण रिसोर्ट पारिवारिक भ्रमण, आन्तरिक तथा बाह्य पर्यटक, कर्पोरेट कार्यक्रम, सभा–सम्मेलन, विवाह तथा विशेष समारोहका लागि समेत उपयुक्त गन्तव्यका रूपमा विकास भएको छ।
यसैबीच, एनआईसी एशिया क्यापिटलले ‘IDEA to IPO’ सेवा अन्तर्गत प्राइभेट लिमिटेड कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गरी साधारण शेयर निष्कासनसम्मको प्रक्रिया पूरा गर्न आवश्यक परामर्श सेवा सञ्चालन गर्दै आएको जनाएको छ।
उक्त सेवा लिन चाहने कम्पनीहरूले एनआईसी एशिया क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत दामोदर रायमाझीलाई मोबाइल नम्बर ९८५११८४९७९ मा सोझै सम्पर्क गर्न सक्नेछन्।
























